काठमाडौं । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ ।

पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको आशङ्का निवारणका लागि पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरणले सकेसम्म कमभन्दा कम समस्या आओस् र त्यसमा उपभोक्ताको समेत सक्दो सहयोग रहोस् भन्ने चाहेको जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “हामीलाई विद्युत् खपत बढाउनुपर्नेछ । बिजुली कटौती गर्ने भन्ने प्रश्न नै छैन । त्यस्तो हुँदै हुँदैन ।”

यही पुस १३ र १४ गते प्रणालीमा समस्या देखिँदा आम उपभोक्तामा आशङ्का बढेको भन्दै प्राधिकरणले त्यस दिन भएको समस्याका बारेमा समेत जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा विद्युत् प्रवाह हुने खिम्ती लामोसाँघु प्रसारण लाइन ट्रिप हुँदा त्यसले कोहलपुर पूर्वका क्षेत्रमा समस्या देखिएको थियो ।

मध्यमस्र्याङदीको एउटा युनिटमा समस्या आउँदा त्यसले सम्पूर्ण प्रणालीमा नै समस्या आएको र त्यसले खिम्ती–लामो साँघु तथा ढल्केबरमा समेत जटिलता पैदा भएको कामुकार्यकारी निर्देशक शाक्यको भनाइ छ । त्यसदिन साँझ ६ बजेर २५ मिनेटदेखि ६.२९ सम्म प्रणालीमा समस्या देखिएको र भार प्रेषणकेन्द्र एवं ग्रीड सञ्चालन विभागको प्रयासपछि नियमित बिजुली प्रवाह भएको उहाँको प्रष्टोक्ति छ ।

त्यस्तै, पुस १४ गते बानेश्वर सबस्टेशनबाट वितरित बिजुलीमा समस्या देखिएको उहाँको भनाइ छ । समस्या आउने बित्तिकै समाधान गर्न प्राधिकरणको जनशक्ति अहोरात्र परिचालित भएको भन्दै उहाँले समस्या देखिएपछि समाधान पनि समयमा हुनुपर्छ भन्नेमा उपभोक्तामा पनि चेतना बढेकामा प्रशन्नता व्यक्त गर्नुभयो ।

जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको छ । उहाँका अनुसार प्रणालीमा एक हजार ४६० मेगावाटसम्म बिजुलीको माग देखिएको जानकारी दिनुभयो । विद्युत् आपूर्तिलाई नियमित बनाउन बढी माग हुने समय हेरेर प्राधिकरणका अर्धजलाशयुक्त आयोजनालाई दिउँसोको समयमा बन्द गरी साँझ चलाइएको र भारतबाट पनि आवश्यकताका आधारमा आयात गरिएको कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

औद्योगिक करिडोरमा समेत बिजुलीको खपत बढाउनतर्फ प्राधिकरण लागिपरेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा आएका अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । “हामी सहज रुपमा बिजुली उपलब्ध गराउनका लागि सबै खालका प्रयास गरिरहेका छौँ । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाउँदै विद्युत्को खपत बढाउनुपर्छ”, कामु कार्यकारी निर्देशक शाक्यले भन्नुभयो ।

उहाँले भारतबाट बढी बिजुली माग हुने साँझको समयलाई लक्षित गरेर गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको जानकारी दिनुभयो । प्राधिकरणको आजको तथ्याङ्कमा ११ हजार ५०५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । उहाँले प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट बिजुली उत्पादन भइरहेको तथा निजी क्षेत्रका आयोजनाबाट पनि सोही अनुपातमा बिजुली उपलब्ध भएको तथ्याङ्क पेश गर्नुभयो । तीन वटा प्लान्ट रहेको कुलेखानी जलाशययुक्त आयोजना भने आवश्यकताका आधारमा मात्रै चलाइएको उनको भनाइ छ ।

केही स्थानमा ट्रान्सफर्मर स्थानान्तरण, वितरण लाइनको मर्मत तथा अन्य प्राविधिक कारणले एकाध मिनेट बिजुली काटिँदा त्यसैलाई नै बिजुली कटौती भयो भन्ने अर्थमा लिन नहुने उहाँको भनाइ छ । गत वर्ष पनि केही सबस्टेशनमा लोड बढी हुँदा आवश्यकताका आधारमा सम्बोधन गरिएको भन्दै उहाँले कोरोनाका कारण प्राधिकरणका कर्मचारी सबै स्थानमा पुग्न नसक्दा चुहावट नियन्त्रणमा केही जटिलता पैदा भएको बताउनुभयो ।

सो अवसरमा प्राधिरकण सञ्चालक समितिका सदस्यसमेत रहनुभएका ऊर्जा सचिव घिमिरेले प्राविधिक समस्या आउन नदिन प्राधिकरण पूर्ण रुपमा चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयका तर्फबाट प्राधिकरणलाई सहज रुपमा काम गर्न आवश्यक सहजीकरण गरिरहेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले प्राधिकरण उपभोक्ताका हितका लागि सदैव क्रियाशील रहेको भन्दै फरक फरक व्यक्ति हुँदा र नहुँदा सिष्टम नै नभएको भन्ने अर्थमा बुझन नहुने उल्लेख गर्नुभयो । रासस

सम्बन्धित खबरहरु