काठमाडौं । कारको ठक्करपछि एक बाघको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ मरेको हो । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई ठक्कर दिएको र घटनास्थलमै बाघ मरेको निकुञ्जले जानकारी दिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो । जानकारी अनुसार कारले बाघको टाउकोमा ठक्कर दिएको थियो । निकुञ्जका अनुसार तत्कालै अधिकारीहरु जाँदा अलिअलि चलमलाएको थियो तर एकछिनमै मर्यो ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको जानकारी गराउनुभयो । कार चालकले तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको बयान दिएका छन् । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान निकुञ्जले गर्ने जनाइएको छ ।

एक प्रत्यक्षदर्शीका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको बयान दिएका छन् । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भएको छैन । निकुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको छ ।

सम्बन्धित खबरहरु