काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिनुभयो । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिनुभएको हो । उहाँले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिनुभएको हो ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेल्नुभएको हो । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाउनुभयो । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिनुभयो ।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो । नेपालमै छँदै उहाँ कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो । अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका छ खेल खेल्नबाट बञ्चित हुनुभएको हो । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ ।

सम्बन्धित खबरहरु