काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ । आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ ।

आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ । क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन ।

सम्बन्धित खबरहरु