काठमाडौ । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो । मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

 

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढार्इं साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताउनुभयो ।

 

उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् ।

 

नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन । उहाँका अनुसार यसअघि गत फागुनमा नवीकरण रोकिएका फर्मलाई असारमसान्तसम्मको समय दिइएको थियो । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो ।

 

पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ । छ वर्षपछि प्रत्येक दुई÷दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यता व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् ।

 

मट्टितेल ट्याङ्क भण्डारण निर्माण

नेपाल आयल निगमले प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण गरेको छ । हाल भलवारीस्थित कार्यालयको डिपोमा मट्टितेल भण्डारण गर्दै आएकामा ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ भण्डारण निर्माण गरिएको हो ।

 

निगमले मट्टितेल भण्डारणका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्याङ्क निर्माण गरेको छ । रु एक करोड लगानीमा सो ट्याङ्क निर्माण गरिएको निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

 

पेट्रोलको भण्डारण क्षमता कम हुँदा मागअनुसार आपूर्ति गर्न नसकेपछि निगमले मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागेको हो । डिपोमा पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको तर खपत करिब २०० देखि ३०० किलोलिटरसम्म हुने गरेपछि मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको हो । जसबाट पेट्रोलको भण्डारण क्षमतामा करिब तीन गुनाले वृद्धि भई करिब तीन दिनको आपूर्ति धान्न सक्नेछ ।

 

उक्त डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङका केही भाग गरी आठ जिल्लामा अवस्थित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगञ्ज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात एवं प्राप्ति गरी बिक्री वितरण गर्ने गरिएको छ । यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा खाना पकाउने एल पिजी ग्यास इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाइनरीबाट आयात गरी एल।पि।जि।बोटलिङ प्लान्टलाई बिक्री वितरण गर्ने गरिएको छ ।

 

उक्त क्षेत्रमा हाल पेट्रोलियम पदार्थको मागमा वार्षिक करिब १२ प्रतिशतका दरले वृद्धि हँुदै गइरहेको छ । औसत रुपमा दैनिक १२ लाखदेखि १३ लाख लिटरसम्म पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदै आएको प्रादेशिक कार्यालय लुम्बनी डिपोका प्रमुख प्रलयांकर आचार्यले जानकारी दिनुभयो ।

 

निगमले डिपो परिसर तथा उक्त क्षेत्रका पेट्रोल पम्प, स्थानीय क्षेत्रमा हुनसक्ने आगलागीको नियन्त्रण गर्न पानी र केमिकल फोम मिश्रित छ हजार लिटर क्षमताको अत्याधुनिक दमकल खरिद गरी सञ्चालनमा ल्याएको छ । रासस

 

 

सम्बन्धित खबरहरु