काठमाडौं । मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले योजना तयार गरेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले जनाएको छ ।

यसअघि नै पानी आएपछि आउने चुनौती पहिचान गरेको र समाधानका लागि के गर्ने भन्ने तयारी अघि बढाइएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार लिमिटेडले खानेपानी वितरणका लागि तालिका पनि बनाइएकामा त्यसमा मन्त्रालय र बोर्ड पनि सहमत भइसकेका छन् ।

उपत्यकामा अहिले पानी वितरण भइरहेको पाइप सयौँ वर्ष पुरानो भएकाले चुहावट बढी हुनसक्छ । चुहावट मर्मतका लागि चाहिने सामग्री खरिद अघि बढाइएको उहाँले जानकारी दिनुभयो । एकै पटक धेरै जनशक्ति चाहिने हुँदा निर्माण कम्पनीको सूची तयार गरेर राखिएको छ । उहाँले भन्नुभयो, “त्यो सूची भएपछि एकै पटक धेरैलाई परिचालन गर्न सकिनेछ ।”

पानी मर्मतको सिलसिलामा पाइपको पानी बाहिर पठाउनुपर्ने हुँदा त्यसको समेत तयारी गरिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । लिमिटेडले नियमित मर्मतसँगै मेलम्चीको पानी आएपछि थप चुहावट हुनसक्ने भनी तयारी अघि बढाएको छ । गत साउनमा मेलम्ची खानेपानी आयोजनाले सुरुङमा पानी हाल्ने भनेपछि तयारी अघि बढाइएको थियो । अहिले पनि पुरानो पाइपमा चुहावट खाज्दै भेटिएका स्थानमा टालिएको लिमिटेडले जनाएको छ ।

अहिले देखिएका स्थानमा चुहावट टालिएको र अरु ठाउँमा देखिनासाथ टाल्न तयारी अवस्थामा बसिएको उहाँको भनाइ छ । पुरानो पाइपबाट वितरण गर्दा कतै पानी नपुग्ने ठाउँ हुनसक्ने भएकाले ती ठाउँ पहिचान गरी जडानमा ध्यान दिइनेछ । उहाँले भन्नुभयो, “कतै जडान गर्नुपर्ने त कतै हटाउनुपर्ने हुनसक्छ ।”

पानी वितरणका लागि व्यवस्थापन गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यको अध्यक्षतामा खानेपानी मन्त्रालय, निर्देशनालय र बोर्डका प्रतिनिधि रहने गरी समिति बनाइएको छ । खानेपानी मन्त्रालय र आयाजनाले सुरुङमा रहेका त्रुटि हटाइसकेर छिट्टै परीक्षण गर्ने गरी तयारी अघि बढाइरहेको छ ।

सम्बन्धित खबरहरु