काठमाडौं । चार नारायणमध्येका एक विशङ्खुनारायणको महास्नान रोकिएको छ । विशङ्खुनारायणका पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियाँै वर्षअघिदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका थिए । प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आजका दिन महास्नान गरिएको विशङ्खुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछाँै तर कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।” सुवेदी परिवारले विशङ्खुनारायणलाई इष्ट देवताका रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिएको सचिव सुवेदीले जानकारी गराउनुभयो । गोदावरी नगरपालिका–२ मा अवस्थित सो नारायण मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीको दिन मेला लाग्छ ।

चारमध्ये विशङ्खुनारायणलाई माहिला नारायणका रुपमा पुज्ने गरिन्छ । हरेक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने भएकाले धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट दर्शनार्थी विशङ्खुनारायण आउने गर्छन् । भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामकरण भएको स्थानीयवासी गोविन्द विष्टले जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु