काठमाडौ । राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला हुनुभएको छ । पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा घर रहेकी उहाँले हालैमात्र समाजशास्त्र विषयमा स्नातकोत्तर (डिग्री) पास गर्नुभएको छ ।

उहाँले पाटन क्याम्पसबाट डिग्री पास गर्नुभएको हो । कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उहाँ त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालयमा सहायतामा पढ्न थाल्नुभयो । क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उहाँलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको हो ।

आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको उहाँले बताउनुभयो । आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उहाँकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेको उहाँको भनाइ छ ।

समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले खर्च जुटाएको बताउँदै उहाँले भन्नुभयो, ‘जागिर खाँदै पढेको छु ।’ सुरूमा अरुको सहयोगमा र हाल आफ्नै कमाइमा पढ्न व्यस्त सीताले यतिखेर काठमाडौँमै आफ्ना ३ जना भदाहरुलाई कोठामा सँगै राखेर पढाइरहनुभएको छ ।

पारिवारिक हिसाबले सीताको जीवन निकै कष्टकर रह्यो । सानै उमेरमा बुबा बितेपछि आमा र दाइको सहयोगमा अध्ययनरत उहाँ आफैँ शारीरिक अपाङ्गता भएकी हुनुहुन्थ्यो । ‘गाउँमा लडेर हात भाँचियो, निको होला भनेर गाउँमै उपचार गरियो तर निको भएन, अन्ततः देब्रे हात नै निकाल्नु पर्यो’, सीताले विगत सम्झिनुभयो । ‘तर शिक्षाको उचाइले गर्दा समस्याहरुसँग जुध्नका लागि साहस मिलेको छ ।’

चेपाङ समुदायको पहिलो डिग्री पास गर्ने महिलाका रुपमा सीतालाई पाउँदा आफू निकै खुसी भएको चेपाङ अगुवा गोविन्दराम चेपाङले बताउनुभयो । ‘चेपाङ समुदायबाट विभिन्न प्राविधिक र औपचारिक शिक्षा लिने पुरूषहरु धेरै नै भए पनि महिलाहरुले सफलता हात नपारेको अवस्था थियो’, संविधानसभा सदस्यसमेत रहनुभएका गोविन्दरामले भन्नुभयो, ‘अवसर पायो भने चेपाङ जातिले पनि केही गर्न सक्छ भन्ने उदाहरण देखिन थालेको छ ।’

चेपाङ जाति निकै पिछडिएको अवस्थामा रहेको र त्यस जातिभित्र पनि लैङ्गिक हिसाबले महिलाहरु बढी नै समस्यामा रहेको बताउँदै सीताले चेपाङ समुदायका महिलाहरुलाई सशक्तीकरण गर्नमा आफू लागिपर्ने बताउनुभयो । आफूले पाएको शैक्षिक उपलब्धि सबैलाई बाँड्न चाहेको उहाँले बताउनुभयो । मेहनत र अवसर भएमा सफलता हात पार्न कुनै समस्या नहुने सीताको भनाइ छ । उहाँले भन्नुभयो मेहनताका अगाडी सफलता लम्पसार पर्ने रहेछ ।

सम्बन्धित खबरहरु