सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको मालपोत कार्यालयबाट दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । मालपोत कार्यालयका एक नायब सुब्बा र एक लेखापढी व्यवसायी घुस रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट खटिएको अख्तियारको टोलीले मालपोत कार्यालय हरिवनका नायबसुब्बा बेदनिधि बराल र कार्यालय परिसरमा बसेर लेखापढीको काम गर्ने हरिवन नगरपालिका–२ का रामसुन्दर महतोलाई रु ११ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीबाट जग्गाधनी प्रमाणपुर्जामा नाम संशोधनका लागि घुस लिएको पाइएको अख्तियारको कार्यालयले जनाएको छ । दुवै जनालाई थप अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय बर्दिवास लगिएको छ ।

 

सर्लाहीबाट मङ्सिर २४ गते नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्राविधिक मनोजकुमार पाण्डे रु आठ हजार घुस रकमसहित र असार ९ गते हरिपुर नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह रु चार हजार घुस रकमसहित पक्राउ परेका थिए ।

 

जिल्लामा मालपोत, नापी, घरेलु तथा साना उद्योग, विद्युत् र स्थानीय निकायमा घुस नदिएसम्म सेवा लिन गाह्रो पर्ने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । गुनासो र उजुरीअनुसार यी कार्यालयबाट पटक–पटक कर्मचारी सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ परिरहेका छन् ।

 

 

सम्बन्धित खबरहरु