खोटाङ जिल्लामा एकजना बुढा पत्रकार हुनुहुन्छ । उहाँकोे शरीरको कद सानो छ । चौडा र फराकिलो निधार, एउटा चश्मा साथमा आधा भन्दा बढी फुलेका दारीहरुले उहाँको ओजपूर्ण तार्किक व्यक्तित्व छर्लङ्ग्याउँछन् । साधारण भेषभूषामा कहिले टोपी लाएर अधिकांश त टोपी नलगाई उहाँ दिक्तेल बजार निस्किनुहुन्छ । सानो टाउको छ, त्यो आफैमा विश्व ब्रह्माण्ड छ । त्यो उहाँको टाउकोमा के छ ?

बुझ्नेहरु आश्चर्यमा पर्छन् र आदरपूर्वक सम्मान गर्छन्, चाहे नेता होस्, चाहे कर्मचारी, चाहे शिक्षक, पत्रकार या सर्वसाधारण नै किन नहुन् उनै सम्मानित पत्रकार व्यक्तित्व हुन् खोटाङका बरिष्ठ पत्रकार श्री कृष्ण आचार्य । उहाँभन्दा जेठो त्यसमा पनि पत्रकारिताको धर्म पालना गरेर खोटाङमा पत्रकारिता गर्ने अर्को पत्रकार छैनन् । त्यसैले खोटाङको पत्रकारिता जगत र बुद्धिजीविहरुले उहाँलाई पिता पत्रकारका रुपमा सम्मान गर्दछन् । गुरु पत्रकारका रुपमा सबैले सिक्छन्, मान्छन् र सम्मान पनि गर्दछन् । अर्थात यहाँका नव उदीयमान पत्रकारहरुले पत्रकारितामै आफ्नो जीवन व्यतित गरेका एक राष्ट्रिय स्तरका अब्बल पत्रकार अभिभावकका रुपमा पाएका छन् । सायद उनै गुरु पत्रकारको योगदान र भूमिकाले होला पूर्वमा खोटाङको पत्रकारिताको स्थान उच्च र गौरवपूर्ण पनि छ ।

वि.सं. २०४४-४५ तिर नारायणहिटी राजदरबार अगाडिको रोडमा चोकमा बडेमानको एउटा साँढे बसेर चारैतिर जाम पारेको एक तस्बिर खिचेर त्यहि तस्बिर राखी उहाँ र उहाँहरुको नागरिकता छैन ? शिर्षकको आलेख युगसंवादमा छाप्नुभएका आचार्यले साँढे जस्तै अनागरिकहरुले शासन गर्दैछन् र जनतालाई दुःख दिँदैछन् भन्ने विषयलाई उठाएर दुईसय वर्षभन्दा पुरानो जरा गाडेको राजसंस्थाभित्र खैलाबैला मच्चाउनुभएको थियोे, भने प्रजातन्त्रको पुनस्र्थापनाका लागि संघर्ष गरिरहेका नागरिकहरुलाई ठूलो उर्जा र हौसला प्रदान गर्नुभएको थियो ।

यसरी कुनै विषयवस्तु पाउने वित्तिकै पृथक टाउकोले दुरदर्शी विश्लेषण गरेर जनपक्षीय कलमको निवले सामन्तवादका पर्खालहरु भत्काउन साब्दिक वा’ण प्र’हार गर्नु उहाँको विशेषता हो । त्यसैबेला शरदचन्द्र वस्तीको राज परिवारलाई तपाईँ आदरार्थी प्रयोग गर्न किन नपाउने ? र माथवरसिंह बस्नेतको पुनर्जागरण साप्ताहिकमा छापिएको दरबारको भाषालाई पत्रकारिताको भाषामा सामान्यीकरण गर्ने विषयले समेत राजदरबारको मर्ममाथि प्र’हार गरेको थियो । यसरी जनताको आँखामा छारो हालेर सम्मानको अभिलाषा पूरा गरिरहने राजसंस्थाप्रतिको प्रहा’रले तिनैजना पत्रकारहरु दरबारको तारो बन्नुपरेको थियो । यस्तै साहसी र तार्किक लेखनका प्रतिमूर्ति हुन् – पत्रकार कृष्ण आचार्य ।

वी.पी जयन्तीको अवसर पारेर वि.सं. २०४५/४६ साल तिर नै जनहित साप्ताहिकमा सरकारको “रुख रोपौँ वन जोगाऔं” नारा र काँग्रेस पार्टीलाई जोडेर व्याङ्ग्यात्मक रुपमा लेखेको “रुख रोपौँ विरुवा उखेलौँ” शिर्षकको अभिलेखले काँग्रेसका टाउके शिर्ष नेताहरुसँग उहाँलाई चिनजान गरायो । बिरुवा रोप्नु पर्नेमा उखेलिन्छ र रुख रोप्ने नारा दिइन्छ भन्दै व्याङ्ग्यात्मक शैलिमा ३० सालमा लेखिएको लेखले उहाँलाई ने.काँ. नेता कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला जस्ता नेताहरुसँग भेट गरायो । उहाँले गिरिजाप्रसाद कोइरालाको त पटक पटक अन्तर्वार्ता लिनुभएको थियो ।

स्पेशटाइम दैनिकमा वि.सं. २०५७ सालमा छापिएको अब का’टिने पालो कसको ? लेखमा झापा विद्रोहका नेता सी.पी. मैनालीको बडेमानको विलासी महलतर्फ संकेत गर्दै, उहाँहरुले हिजो यस्तै बडेमानको विलासी जीवन जिउँदै जनतालाई दुःख दिने सामन्तहरुलाई का’टेको तर आज उहाँहरुकै त्यही स्थितिको छाँटकाँट र रबाफको महल देखियो । अब का’टिने पालो कसको ? भनी प्रश्न गरेर लेखिएको लेखमा सत्तामा पुगेर जनता भुल्न थालेका कम्युनिष्ट नेताहरुलाई अत्याउँदै विउँझाएको थियो । यो लेख त आज पनि उत्तिकै सान्दर्भिक छ । प्रत्येक पटक सत्तामा पुगेका शासकहरुले देखाएको चरित्रले पटक–पटक सत्तामा पुग्नेलाई यस्ता प्रश्न सोधिरहन मिल्छ । आजपनि आफ्नै कार्यकर्ता र जनता सडक र घर–घरबाट बाचा बिर्सेउ भनेर नेता र जनप्रतिनिधिहरुलाई घचघच्याइरहेका छन् । अब का’टिने पालो कसको ? भनेर सोध्ने कृष्ण आचार्य पनि कम्युनिष्ट आन्दोलनका रुपमा चिरपरिचित झापा विद्रोहका एक पात्र हुनुहुन्थ्यो । यी त उहाँका केही प्रतिनिधिमूलक लेखहरु हुन् । ४० वर्षभन्दा बढी पत्रकारितामै बिताउनुभएका आचार्यले के के लेख्नुभयो आज अनुसन्धानको विषय बनेको छ ।

वि.सं २०२८ सालबाट सुरु भएको झापा विद्रोहको ज्वाला चर्किरहेकै बेलामा सरस्वती जुनियर हाइस्कुल दिक्तेलबाट कक्षा ९ मा प्रथम स्थानमा उत्तिर्ण भएर पञ्च प्राइमरी स्कुलमा शिक्षण गर्दा गर्दै उच्च शिक्षाको अभिलाषा बोकी झापा पुग्नुभएका आचार्य सुरुमा आफ्नो जीबिकाका लागि जागिरको खोजीमा लाग्नुभएको र शान्ति आदर्श हाइस्कुलमा शिक्षकको रुपमा नियुक्त हुनुभयो । यहीँबाट उहाँको झापा बिद्रोहका आन्दोलनकारीहरुसँग साँठगाँठ सुरु भयो । त्यही शान्ति आदर्श स्कुलकै प्राइभेट विद्यार्थीको रुपमा म्याट्रिकुलेसन परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा अध्ययनका लागि अध्ययन विदा लिएर मेची क्यम्पसमा भर्ना हुनुभयो । अब उहाँको राजनीतिक भूमिका झन सशक्त भयो । उहाँ अनेरास्ववियुको सचिव भएर विद्यार्थीहरुको नेतृत्व गर्दै सशक्त व्रmन्तिकारी भूमिकामा पदार्पण हुनुभयो । यही समयमा उहाँको पत्रकारिता पनि सुरु भयो । वि.सं. २०३२ सालमा विवेचना अर्ध–साप्ताहिक पत्रिकाको चिफ रिपोर्टरबाट पत्रकारिता सुरु गर्नुभएका आचार्यले वि.सं. २०३५ देखि २०३८ सम्म यहि पत्रिकाको सह सम्पादक भएर काम गर्नुभयो भने वि.सं. २०३८ सालदेखि योज्ञराज न्यौपानेको नाममा दर्ता भएको जनध्वनिको प्रधान सम्पादक भएर काम गर्नुभएको थियो । झापा विद्रोहीका रुपमा चिनिनुभएका आचार्यलाई आफैँ पत्रिका दर्ता गर्ने अलाउड भने राज्यसत्ताले दिँदैनथ्यो ।

यस समयमा उहाँले भारतको सिलिगुरीबाट प्रकाशित हुने हिमालचुलीको समाचार सम्पादन, सिक्किम हेराल्डको भाषा सम्पादन साथै झापाबाट प्रकाशित हुने अन्य पत्रिकाहरुको सम्पादनमा समेत महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । यही समयबाट नै परिवर्तनका पक्षधर आचार्यले परिवर्तनगामी लेख रचना र समाचार लेखनलाई दैनिकी बनाउनुभएको थियो । मेची क्याम्पसबाट आई ए पास गरेपछि सरुवा भएर झापाको दमक हिमालय मा.वि. मा केहि वर्ष शिक्षकका रुपमा अध्यापन गराउनुभएको थियो । त्यस समयमा उहाँले शिक्षक संगठनको उपाध्यक्ष समेत भएर राजनीतिमा समेत सक्रिय हुनुभएको थियो । त्यस समयमा शिक्षक संगठन राजनीतिक सक्रियताको अर्को आधार समेत थियो ।

यसरी झापा बिद्रोहका पक्षधर कम्युनिष्ट विचारधाराका क्रान्तिकारी आचार्यको प्रगतिशील विचार र कार्य तत्कालीन राज्यव्यवस्थालाई स्वीकार्य थिएन । तर पनि त्यही झापा बसाइको समयमा निडर र साहसी स्वभावका आचार्य पटक–पटक अर्थात शान्ति सुरक्षा अन्तर्गत ३ चोटी, दाह्रासिंह काण्डमा एकचोटी, जुट काण्ड (झापा मोरङ सुनसरीका किसानहरुको विद्रोह) को सहभागीका रुपमा एकचोटी र झापा विद्रोहीकै रुपमा दुईपटक गरी ७ पटक सम्म जेल जानुपरेको थियो ।

झापा विद्रोहकै क्रममा पञ्चायती शासन व्यवस्थाको तारो बनेर अहिले नेपालका वर्तमान प्रधानमन्त्री के पी शर्मा ओली भूमिगत भएपछि आफू सहित केहि अग्रगामी युवाहरु महेशपुरको जंगलमा एकमहिना लुकेर बस्नुपरेको कुरा अझै सुनाउँदै हुनुहुन्छ उहाँ । त्यहाँ बस्दाखेरि जब रात पर्छ अनि जङ्गल नजिकैको मकैबारीमा आएर सुकेका मकैका घोगा भाँचेर लगेर आगो बाली टिनको पातामाथि मकै छोड्याइ भुटेर खान भनेर हालेको तर गृष्मको तराइको गर्मीले खंग्रङ्ग भएर सुकेका मकैका दाना टिनको पातो तात्दै गएपछि दानादाना पड्केर उछिट्टीएर गएको र त्यही आगोको उज्यालोमा मकैका दाना खोजेर खाएको भोगाइ सुनाउनुहुन्छ उहाँ । हामीलाई यो विषय ठट्यौली लाग्न सक्छ, तर क्रान्ति दुख नगरी सफल भएको हुँदैन भन्ने यो पनि एक उदाहरण हो ।

वि.सं. २०३९ सालमा काठमाडौँ छिर्नुभएका आचार्य जाँचबुझ समितिमा सञ्चार विज्ञ, प्रेस समिक्षकको रुपमा काम गर्न थाल्नुभयो । प्रेस समीक्षकलाई निजी सञ्चारमाध्यममा काम गर्ने छुट भएकोले वि.सं. २०४१ मा सोमनाथ घिमिरे प्रधान सम्पादक र उहाँ सह–सम्पादक भएर जनसंवादको सम्पादन थाल्नुभएको थियो । तर, २०४१ सालमै बाग्मती अञ्चलाधीशको कार्यालयद्धारा जनसंवादमाथि पनि प्रतिबन्ध लगाइयो । फेरि २०४२ मा युगसंवाद साप्ताहिक पत्रिकाको सम्पादक भएर त्यसैमा संलग्न हुनुभयो । आफ्नो पत्रकारितालाई निरन्तरता दिइरहनुभएका आचार्यको प्रजातन्त्रको पुनस्र्थापनासँगै सञ्चार विज्ञको जागिर भने सकियो । जागिर खोसिएकाहरुले मुद्दा गरेर जागिरमा पुनस्र्थापना भए तर आचार्य मुद्दाको लन्ठोतर्फ लाग्नुभएन, उहाँले जागिर नखाने निधो गर्नुभयो । बिस्तारै आफ्नो गृह जिल्ला फर्कने सोच बनाउन थाल्नुभयो ।

तर तत्कालै यो काम सम्भव भएन । त्यसपछि वि.सं. २०४६ सालमा मूलधारा साप्ताहिक पत्रिकाको प्रधान सम्पादक भएर २ वर्ष काम गर्नुभयो । काठमाडौँको बसाइको क्रममै आचार्यले एम.ए.सम्मको अध्ययन पुरा गर्नुभएको थियो । वी. एल्. पनि अध्ययन गर्नुभएका आचार्यले वी.एल्. को पढाइ भने पूरा गर्न सक्नुभएन । वि.सं. २०४८ सालको अन्त्यतिर आफ्नो गृह जिल्ला खोटाङ फर्कनुभएका आचार्यले २०४९ मै मध्यान्तर पत्रिकाको सम्पादक भएर काम गर्न थाल्नुभयो जसको सञ्चालन नारायणप्रसाद जोशीले गर्नुभएको थियो । यसैगरी वि. सं. २०५२ मा नवसंवाद दर्ता गराएर सम्पादन गर्न थाल्नुभएका आचार्यको अहिले सञ्चालन भैरहेको नवसंवाद डट कम यसकै विकसित रुप हो । यही नवसंवाद सम्पादन गर्दागर्दै उहाँ फेरि काठमाडौँ जानुभयो । त्यही समयमा कान्तिपुर पत्रिकाको सुरुवात हुँदै थियो, जुन कान्तिपुर पत्रिकाको स्थापना कालमै उहाँले उप–सम्पादक भएर काम गर्नुभएको थियो । जुन पत्रिका हाल नेपालको राष्ट्रिय दैनिक पत्रिकाको रुपमा अग्रणि स्थानमा आउँछ ।

खोटाङमा सरकारी कामकाजमा प्रयोग हुने एउटा मात्र प्रेस भएको बुझेर काठमाडौँ छिर्नुभएका आचार्य फर्केर आउँदा अखबार छाप्न मिल्ने ठूलो प्रेस लिएर खोटाङ भित्रिनुभयो र त्यही प्रेसमा २०५५ सम्म नवसंवाद छाप्ने कार्य भयो । प्रेस र नवसंवाद पत्रिका दुवै माओवादी द्धन्द्धको चपेटामा परेपछि वि.सं. २०५६ मा पुनः काठमाडौँ छिर्नुभएका आचार्यले २०५७ देखि २०५८ सम्ममा स्पेसटाइम दैनिकको वरिष्ठ उपसम्पादक भएर काम गर्नुभयो । यही समयमा घटेको पश्चिमको चर्चित दुनै घटनाको स्पेसटाइमका तर्फबाट रिपोर्ट गर्ने काम उहाँले नै गर्नुभएको थियो । वि.सं. २०५८ साल जेठ १९ गते दरबार ह’त्याका’ण्ड भएकै दिन एक नयाँ पत्रिकाको जन्म भयो राजधानी । यो राजधानी पत्रिकाको इन्द्रेणी पृष्ठको पहिलो संयोजक पनि कृष्ण आचार्य नै हुनुहुन्थ्यो ।

फेरि खोटाङ आएर नवसंवादलाई निरन्तरता दिँदै अरु थप सञ्चारका गतिबिधिमा पनि सक्रिय हुन थाल्नुभएका आचार्यले खोटाङको पहिलो टि.भी.को रुपमा केबल मार्फत दिक्तेल च्यानल वि. सं. २०५९ देखि सञ्चालन गर्नुभएको थियो । जसको अस्थायी स्टेसन त्रिवेणी चोकमा रहेको थियो । यसलाई दर्ता गर्न पटक–पटक प्रयास गरी सञ्चार मन्त्रीसमक्ष कुरा पु¥याउँदासमेत राजाको प्रत्यक्ष शासन भएकाले राजाको प्रत्यक्ष सपोर्टर बन्दामात्र दर्ता हुने भएपछि यसलाई उहाँले ठाडै अस्वीकार गरिदिनुभयो । स्वतन्त्र र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने उहाँ कसैको मुखपत्र बनेर यो सम्भव नहुने बताउनुहुन्छ । यसपछि उहाँ वि.सं. २०६२ मा फेरि झापातर्फ जानुभयो, त्यहाँ उहाँले पुनः पत्रकारितालाई नै निरन्तरता दिँदै बज्रपात दैनिकको प्रधान सम्पादक भएर काम गर्नुभयो । विर्तामोडको मूलचोकलाई मुक्तिचोक नाम दिने पहिलो पत्रिका यही थियो । लोकतन्त्र प्राप्तिपछि गृहजिल्लामै फर्केर पुनः नवसंवादलाई निरन्तरता दिनुभएका आचार्य खोटाङ जिल्लाको पहिलो एफ एम रेडियो रुपाकोट र दोस्रो एफ एम रेडियो हलेसीको बोर्डमा समेत बसेर काम गर्नुभयो । यसरी जिल्लामा एफ एम रेडियो स्थापनामा समेत आचार्यको महत्वपूर्ण भूमिका रहेको छ ।

आफ्नो उर्जावान समय सञ्चार क्षेत्रमै विताउनुभएका आचार्यले झापा काठमाडौँ र खोटाङमा रहँदा विभिन्न मुखपत्रहरुको समेत सम्पादन गर्नुभयो । झापाको आगो, दिक्तेलको एकता यसका केहि उदाहरणहरु हुन । विभिन्न उपनामबाट लेख्ने आचार्य कुनै समय बन्दना राणाको नामबाट महिला स्तम्भ समेत लेख्ने गर्नुहुन्थ्यो र अझैपनि आफ्नो जीवन लेख्नमै विताउँदैहुनुहुन्छ । झापाबाट प्रतिनिधित्व गर्दै उबेला नै नेपाल पत्रकार सँघको केन्द्रीय सदस्य बन्नुभएका कृष्ण आचार्य वि.सं. २०४६ सालमा गोविन्द वियोगीको अध्यक्षतामा गठन भएको नेपाल पत्रकार संघको ३ सदस्यीय विधान मस्यौदा समिति (गोपाल सिवाकोटी, विश्वकान्त मैनाली र कृष्ण आचार्य) का एक सदस्य रहनुभएको थियो । जुन पत्रकारहरुको छाता संगठन २०४८ सालमा दर्ता भयो ।

जसको परिकल्पनाकार हुनुहुन्थ्यो कृष्ण आचार्य पनि । नेपालका सम्पूर्ण पत्रकारहरुको छाता संगठनका रुपमा रहेको यही महासँघले आफ्नो २५ औँ अधिवेशनको अवसरमा उहाँले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान साथै प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लडाइमा खेलेको नेतृत्वकारी भूमिकाको उच्च कदर गर्दै २०७४ सालमा प्रेस स्वतन्त्रता सेनानीद्धारा सम्मान ग¥यो । यसरी जीवनको महत्वपूर्ण समय देशको कठिन परिस्थितिका बाबजुदपनि आइपर्ने कठिनाइका पहाडहरुलाई फोर्दै प्रेसको स्वतन्त्रताका लागि लडाइ लड्ने प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यलाई आजपनि आफै भेटेर साक्षात्कार गर्न पाउँछौँ । तथापि मान्छे एकदिन मरिन्छ तर प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य इतिहासमा जुगजुगसम्म बाँचिरहनुहुनेछ ।

वि.सं. २०१२ साल श्रावण २ गते खोटाङको दिक्तेलको आचार्यगाउँमा जन्मनुभएका आचार्य पत्रकारिता बाहेक नेपाली साहित्यका कथा, कविता, गीत, गजल, नाटक, उपन्यास जस्ता विधामा समेत कलम चलाउने गर्नुहुन्छ । उहाँको साहित्यिक नाम हो अनमी वुभुक्षु । साहित्य लेखनमा आचार्यको शैली र खगेन्द्र संग्रौलाको शैलीलाई पुर्वेली शैली मानिन्छ । लेख्दा हाम्रा शब्दहरुलाई मारेर लेख्न नहुने उहाँको मान्यता रहेको छ । तथापि संग्रहकै रुपमा छुट्टै कृति प्रकाशन नहुनु दुखको कुरा हो ।

तथापि निकट भविश्यमा यो पनि आउनेछ । प्रेस स्वतन्त्रता सेनानीले के लेख्नुभयो भनेर खोज्नेहरुका लागि यो अवश्य पनि आधार हुने विश्वास लिएको छु । साहित्यका साथै खेलकूद र संगीतमा समेत रुचि राख्ने आचार्य राल्फा समूह र सिस्नोपानी नेपालमा समेत जोडिएर काम गर्नुभएको पाइन्छ । अहिले आफ्ना दुई छोरा ओजोन र जनार्दन सहित धर्मपत्नीका साथ आफ्नो पुख्र्यौली थलोमा बसेर लेख्नमै व्यस्त रहनुभएका यी विद्धताको प्रतिमूर्ति प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यको लेखनीले निरन्तरता पाओस् सुभेच्छा सहित सम्मान ।

प्रकाश आचार्य भावुक प्रभा
दिक्तेल खोटाङ
आचार्य नगरी
माझाघर

सम्बन्धित खबरहरु