काठमाडौँ । भारतका विभिन्न प्रदेशमा कुखुरा र चरा मर्न थालेपछि नेपालमा पनि उच्च जोखिम बढेको छ । भारतमा विभिन्न राज्यमा ठूलो संख्यामा कुखुरा मरेका समाचार बाहिरिएका छन् । कुखुरासँगै ती क्षेत्रमा लगभग २७ सय घुमन्ते चरा पनि मरेका छन् । नेपाल–भारत खुला सीमाका कारण त्यसको जाखिम यहाँ पनि उच्च रहेको सरकारी अधिकारीहरू बताउँछन् ।

‘भारतमा कुुखुरा र चरा मरेका समाचार सार्वजनिक भइरहेका छन् । भारतमा बर्डफ्लु भएपछि नेपालमा पनि सर्ने सम्भावना उच्च हुन्छ,’ पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले भने, ‘नेपालमा पर्ने जोखिम न्यूनीकरण गर्न विभागअन्तर्गतका सबै निकाय रोग नियन्त्रण शाखा, ल्याब, क्वारेन्टाइन, बजेट शाखा र अनुगमन शाखालाई सतर्क रहन निर्देशन दिएका छौं ।’

विभागअन्तर्गत आठ वटा क्वारेन्टाइन कार्यालय र २४ वटा क्वारेन्टाइन चेकपोस्ट छन् । सबैलाई सतर्क गराइएको ढकालले जानकारी दिए । व्यवसायीका अनुसार तुलनात्मक रूपमा मासुको भाउ नेपालमा महँगिएपछि भारतबाट तस्करी बढ्दो छ । व्यवसायीकै पहलमा तस्करी गर्ने गिरोहहरू पक्राउसमेत परेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले बताए ।

‘मंसिर र पुसमा करिब १० गाडी समातेर नष्ट गरेका थियौं,’ उनले भने, ‘भारतबाट एक गाडी ल्याए ५०/६० हजार फाइदा हुन्छ । त्यही भएर तस्करी भइरहेको छ ।’ दसैंतिहारताका नेपालमा मासु सस्तो हुँदा तस्करी रोकिएको थियो । पछिल्लो दिनमा कुखुराको मूल्य बढिरहेको छ । संघले नै प्रतिकिलो ३ सय ७० रुपैयाँ मूल्य तोकेको छ । नेपालमा भाउ बढेपछि तस्करी बढ्न थालेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु