काठमाडौं । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागअन्तर्गत धनगढीमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरिएको छ ।

देशका सबै प्रदेशमा एक÷एक स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना गरी काम अघि बढाउने सरकारको नीतिबमोजिम सुदूरपश्चिम प्रदेशका हकमा धनगढीमा यो कार्यालय स्थापना गरिएको हो ।

यो कार्यालयबाट पूर्वाधार विकासका लागि प्रदेश र स्थानीय तहको क्षमता विकासका साथै सडक, पुल निर्माण तथा सुधारका क्षेत्रमा काम हुने बताइएको छ । कार्यालयअन्तर्गत पूर्वाधारको गुणस्तर परीक्षण गर्न प्रदेशमा उच्चस्तरको प्रयोगशाला स्थापना गरिने जनाइएको छ ।

यस्तै पूर्वाधार निर्माणका लागि वैदेशिक सहयोग परिचालन गर्न सहजीकरण गर्नेलगायत काम गर्ने जनाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बिहीबार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु