काठमाडौ । काठमाडौं उपत्यकाका विद्यालय आउँदो माघ महिनादेखि खुल्ने भएका छन् । कोरोनाको जोखिम घट्दै गएको निष्कर्षसहित माघ महिनादेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी निजी तथा सामुदायिक विद्यालय खोल्ने तयारी भएको हो ।

 

काठमाडौं महानगरपालिकाका शिक्षा विभागका अधिकृत मोती भट्टराईले जनस्वास्थ्यका मापदण्ड पालना गरी विद्यालय खोल्न सकिने बताए । गएको चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा नकारात्मक असर देखिन थालेको, भर्चुअल कक्षाहरू प्रभावकारी नभएको जस्ता कारण विद्यालय खोल्न दबाब परेको उनले बताए ।

कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनका अध्यक्ष टीकाराम पुरीले महामारीको जोखिम घटेकाले काठमाडौं र सहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताए ।

भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ अनुसार पालिकाले सरोकारवालासँगको समन्वयमा विद्यालय खोलेका हुन् । जनस्वास्थ्य विज्ञले भने विद्यालय खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् ।

 

 

सम्बन्धित खबरहरु