काठमाडौं । विभिन्न व्यक्तिहरुलाई अमेरिका पठाउँछु भन्दै ठगी धन्दा चलाउँदै आएकी एक युवत्ती पक्राउ परेकी छिन् । सुनसरीस्थित इटहरी उपमहानगरपालिका–४ की २४ वर्षीया विद्या शर्मा बताउने विद्या सरकार पक्राउ परेकी हुन् । दैलेख प्रहरीको समन्वयमा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई नियन्त्रणमा लिएको हो ।

 

बिहीबार विद्या सरकारलाई दैलेख प्रहरीले सार्वजनिकसमेत गरिसकेको छ । केही समयअघि दैलेखको नारायण नगरपालिकामा आएकी उनले आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपाल प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँ भन्दै ठगी धन्दा सुरु गरेकी थिइन् ।

उनले आफ्नो संस्थाले स्थानीय तहमा कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथामका लागि स्वास्थ्य सामग्री, त्रिपाल, सेनिटाइजर, मास्क, पन्जा र खाद्यान्न वितरण गर्ने जिम्मा मलाई दिएको छ भन्दै स्थानीय तहमा स्वास्थ्य सामग्री र राहत बाड्ने गरेकी थिइन् ।

 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजित सुनारले यस्तो जानकारी दिनु भएको हो । उनले आफ्नो अमेरिकाको लागि भिसा लागेको र आफूले ८–१० जना युवालाई अमेरिका पठाउन सक्छु भन्दै युवालाई प्रलोभनमेत देखाएको खुल्न आएको छ ।

 

हाल जिल्ला प्रहरी कार्यालयमा दुईवटा मात्र उजुरी दर्ता भए पनि धेरैजनालाई समाज सेवा र अमेरिका लिने प्रलोभनमा करिब दुई करोडभन्दा बढी ठगेको अनुमान गरिएको छ । यसको पुष्टि भने भएको छैन । यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

सम्बन्धित खबरहरु