काठमाडौं । समुन्द्रमा हराइरहेको विमानबारे कुनै जानकारी आउँन सकेको छैन । इन्डोनेसियाको राजधानी जकार्ताबाट शनिबार अपराह्न उडेको श्रीविजय एयरको बोइङ–७३७ विमान बेपत्ता भएको हो । विमानमा ५० यात्रु र १२ चालक दल सदस्य रहेका थिए ।

 

इन्डोनेसियाकै वेस्ट कालिमान्ताक प्रान्तको राजधानी पोन्तियानकका लागि उडेको विमान जकार्ताको उत्तरी समुद्रमा खसेको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । भारी वर्षा भइरहेका बेला सुकार्नो हात्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार २ बजेर ३६ मिनेटमा उडेको उक्त विमानले चार मिनेटमै सम्पर्क गुमाएको थियो ।

उडानको विवरण राख्ने फ्लाइटराडार२४ डट कमका अनुसार श्रीविजय एयरको विमान सम्पर्कविहीन हुनुअघि एक मिनेटभन्दा कम समयमै १० हजार फिट तल झरेको थियो । विमानमा सवारको जीवित उद्धार हुने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् । विमानमा ७ बालबालिकासमेत थिए ।

 

विमान बेपत्ता भएको क्षेत्र नजिकैको टापुका बासिन्दाले पानीमा केही तार र धातुका टुक्रा भेटेर तिनको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् । ती सामग्री त्यही विमानको भएको आशंका गरिएको छ ।

 

ती सामग्रीको अनुसन्धान नेसनल ट्रान्सपोर्टेसन सेफ्टी कमिटीले गर्ने जनाइएको छ । माछा मार्दै गरेका एक व्यक्तिले भने विमान समुद्रमा खसेको देखेको दाबी गरेका छन् । बोइङ ७३५–५०० मोडलको उक्त विमान २६ वर्ष पुरानो रहेको जनाइएको छ । उक्त विमानले १ सय ३० जनासम्म बोक्न सक्छ ।

 

 

सम्बन्धित खबरहरु