काठमाडौं । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो । झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा सो सडकको निर्माण भएको थियो । विसं २०७२ को भूकम्पमा पाँच ठाउँमा ठूलो पहिरो गएर सडक पूरै भत्किएको थियो ।

सडक निर्माण सकेर यही महिनामा हस्तान्तरण गर्न लागेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँका अनुसार यी स्थानमा पहिरोको नियन्त्रण गरी सडक पुनःस्थापनाको काम भएको छ । जाइकाले रु एक अर्बभन्दा बढीको अनुदान सहयोगमा निर्माणको काम गरेको थियो । उहाँले भन्नुभयो, “अझैसम्म कोभिड पूरै नहटेको भए पनि काम भइरहेको छ ।”

धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले अरु विभिन्न खण्डमा मर्मतको काम गरिरहँदा जाइकाको अनुदानमा सडक पहिरोका कारण क्षतिग्रस्त भएका स्थानमा पुनःस्थापना भइरहेको हो । विश्वव्यापी फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पूरै नहटेकाले अरु दातृ निकायको सहयोगमा निर्माणाधीन सडक निर्माण अघि बढ्न नसके पनि जाइकाको सहयोगमा निर्माण भएका आयोजना अघि बढेको विभागले जनाएको छ । यो सडकसँगै जाइकाले नागढुङ्गा–सिस्नेखोला पनि अघि बढाइरहेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको सडक ठप्प छ भने भारत सरकारको सहयोगमा निर्माण भएका निर्माण अघि बढे पनि सुस्त गतिमा काम भएको विभागले जनाएको छ । रासस

सम्बन्धित खबरहरु