काठमाडौं । कोरोना महामारी सुरु भएको ८ महिनापछि चीनमा थप एक जनाको मृत्यु भएको छ । चीनमा ८ महिनायता कोरोनाबाट कसैको मृत्यु भएको यो पहिलो घटना हो । जानकारी अनुसार पछिल्लो मृत्यु हेबेई प्रान्तमा भएको बताइए पनि यसको पूर्ण जानकारी भने खुलाइएको छैन ।

पछिल्लो पटक संक्रमण देखिन थालेपछि हेबेईका केही सहरमा पूर्ण लकडाउन गरिएको छ भने ती सहरका सबै नागरिकको परीक्षण भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । गत हप्ता चीनले हेबई प्रान्तको राजधानी सिजियाचुवाङमा लकडाउन गर्दै करिब १ करोड ३ लाख नागरिकको परीक्षण सुरु गरेको थियो ।

गत शुक्रबारदेखि ७० लाख जनसंख्या रहेको चिङ्ताई सहर र ५० लाख जनसंख्या रहेको लाङफाङ सहरमा पनि लकडाउन गरिएको छ । सिजियाचुवाङलाई पछिल्लो लहरको इपिसेन्टर मानिएको छ । बुधबार मात्रै संक्रमण फैलिने खतरा रहेको बताउँदै हेइलोङजियाङ प्रान्तले आपत्कालीन अवस्था घोषणा गरेको छ ।

सम्बन्धित खबरहरु