नयाँदिल्ली । सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले ‘द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्‍याउनुपर्ने विषय’ भन्दै पन्छाएपछि यसमा सामान्य छलफल मात्र भएको थियो ।

बैठकलगत्तै नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भने सीमाको मुद्दामा छलफल भएको र टुंगोमा पुग्न बाँकी खण्डलाई चाँडो निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त गरिएको भन्दै विगतकै जस्तो भाषा उल्लेख गरिएको छ । लामो समयदेखि थाती रहेको प्रबुद्ध समूह (ईपीजी) का सम्बन्धमा पनि बैठकमा भारतीय पक्षबाट ठोस जवाफ आएन । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायतका द्विपक्षीय सम्बन्धका सबैजसो पक्षको समीक्षा गर्दै सुझाव दिन गठित ईपीजीले संयुक्त प्रतिवेदन तयार गरेको साढे दुई वर्ष नाघिसकेको छ ।

बैठकमा भारतीय पक्षले कोरोना खोपको आपूर्ति जतिसक्दो चाँडो र सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता भने व्यक्त गरेको स्रोतले जनाएको छ । यही माघभित्र कोरोना खोपको पहिलो लट उपलब्ध गराउने भनिए पनि अनुपात र मात्रा खुलाइएको छैन । हैदराबाद हाउसमा शुक्रबार दिउँसो १२ बजे सुरु भएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गरेका थिए । बैठकको सुरुमा भारतीय विदेशमन्त्री जयशंकरले सम्बोधन गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु