काठमाडौं । पूर्वमन्त्री एवं नेकपा नेताको विहे पक्का भएको छ । प्रदेश १ का मुख्यमन्त्री समेत रहनु भएका शेरधन राईले ५० वर्षको उमेरमा विवाह गर्न लाग्नु भएको हो । प्रदेश १ का मुख्यमन्त्री राईले आगामी माघ ११ गते आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने पक्का भएको छ । मुख्यमन्त्री राईको विवाहबारे उहाँको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो ।

सुरुवातमा को सँग विहे गर्न लागेको कुरा बाहिर आएको थिएन् । उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुने जनाइएको छ । मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छिन् । उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन् ।

राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो । राई तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री हुँदै प्रदेश एकको मुख्यमन्त्री हुनु भएको हो । अर्कोतिर मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । राई र शेर्पाबीच ३० वर्ष उमेर अन्तर रहेको जनाइएको छ ।

सम्बन्धित खबरहरु