काठमाडौं । भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ । भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो । बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

एटिएम बुथ फुटाउँदै गर्दा पक्राउ
यता काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका–२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका–७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु