काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिनुभयो ।

गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिनुभयो । “शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भन्नुभयो । गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए ।

प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए । सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए ।

गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गर्नुभयो । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ । त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गर्नुभयो ।

सम्बन्धित खबरहरु