काठमाडौं । संसद् विघटनपछि उत्पन्न विवादले नेकपाभित्र केन्द्रदेखि स्थानीय तहसम्म तनाव बढाएको छ । यो बीचमा प्रचण्ड–नेपाल पक्षले ओली पक्षका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त पत्रमा हस्ताक्षर गर्ने पूर्व राज्यमन्त्री जसमाया गजमेरसहित तीन सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

अविश्वास प्रस्तावका विषयमा प्रदेशसभा बैठकमा छलफल गर्ने समय नजिकिदै गर्दा सोमबार प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले आफ्नो प्रस्ताव फिर्ता लिएका हुन् ।

प्रदेशसभा बैठक बुधबार बस्दैछ । गत पुष १२ गते प्रदेश सरकारका मुख्यमन्त्री राईविरुद्ध दाहाल–नेपाल समूहका ३७ सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

सो प्रस्तावमा सोमबार फिर्ता लिने तीनैजना सांसदको हस्ताक्षर रहेको थियो । सोमबार प्रदेशसभा सचिवालयमा सामूहिक निवेदन दिँदै उनीहरुले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै फिर्ता लिएका हुन् ।

सोमबार अविश्वास प्रस्ताव फिर्ता लिने तीनै जना सांसद झापाबाट निर्वाचित हुन् । यो सँगै अविश्वासको प्रस्ताव फिर्ता लिने सांसद्को संख्या पाँच पुगेको छ । यो भन्दा पहिले उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।

सम्बन्धित खबरहरु