काठमाडौं । हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेशनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो ।

एक जना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको हुम्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

गत पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो ।

कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि जिल्ला बाहिर काठमाडौँ लगिएको छ । महिलाको भने कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी घर फिर्ता भई साथै हुल्ला कोरोनामुक्त बनेको छ ।

लामो समय कोरोना सङ्क्रमणका हिसाबले ग्रिनजोनका रुपमा रहेको हुम्लामा गत असोजयता ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल सङ्क्रमित सङ्ख्या शून्यमा झरेको हो ।

गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

सम्बन्धित खबरहरु