काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आइतबार भएको खेलमा सावित्रा भण्डारीको चार गोलको मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एफिएफ क्लबले विराटनगर महानगरपालिकालाई ७–० गोलअन्तरले पराजित गरेको हो ।

एपिएफ क्लबको यो लगातार दोस्रो जित हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले मध्यान्तरअघि नै ४–० गोलको अग्रता बनाएको थियो । मध्यान्तरपछिको खेलमा एपिएफले थप तीन गोल गर्यो । खेलको नवौँ मिनेटमा एपिएफकी अनिता केसीले पहिलो गोल गर्नुभएको थियो । खेलको २५ औँ मिनेटमा सावित्रा भण्डारीले आफ्नो व्यक्तिगत पहिलो गोल गर्नुभयो ।

खेलको ४२ औँ मिनेटमा भण्डारीले नै व्यक्तिगत दोस्रो, खेलको ७४ औँ मिनेटमा भण्डारीले व्यक्तिगत तेस्रो तथा खेलको ८९ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गर्नुभएको थियो । यस्तै अनिता केसीले खेलको ३५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभएको थियो ।

यसैगरी एपिएफकी सरु लिम्बुले खेलको ७२ औँ मिनेटमा गोल गर्नुभएको थियो । खेलको प्लेयर अफ दी म्याच सरु लिम्बु घोषित हुनुभयो । एपिएफले पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले हराएको थियो ।

विराटनगरले भने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिकासँग एक एक गोलको बराबरी खेलेको थियो । महिला लिग फुटबलअन्तर्गत आज उदयपुरको चौदण्डीगढी नगरपालिका तथा रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

सम्बन्धित खबरहरु