काठमाडौं । विश्व अहिले कोरोना महामारीको चपेटमा आएको छ । अहिले धेरै देशहरुले कोरोनाविरुद्ध विभिन्न खोपहरु लगाउन सुरु गरेका छन् । यो बीचमा भारतले नेपाललाई दिएको खोप पनि लगाउने तयारी हुँदैछ ।

नेपाल कोभिड–१९ विरुद्धको खोप अभियान माघ १४ गते बिहान साढे ९ बजेदेखि सुरु हुने भएको छ । खोप अभियानको उट्घाटन प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जनाउनु भएको हो । खोप अभियान उट्घाटनमा सातै प्रदेशका अस्पतालहरू भर्चुअल माध्यमबाट सरिक हुनेछन् ।

अभियानको पहिलो दिन अर्थात् माघ १४ गते ७ वटै प्रदेशका ६२ अस्पताल र १ सय २० वटा खोप केन्द्रबाट खोप दिन लागिएको छ । दोस्रो दिन माघ १८ गते ७७ अ‍ै जिल्लाका ३ सय खोप केन्द्रबाट खोप दिन लागिएको छ ।

पहिलो चरणको खोप अभिायन १० दिनभित्र सम्पन्न गर्ने र ४ लाख ३० हजार जनालाई दिइने लक्ष्य लिइएको स्वास्थ्यमन्त्री त्रिपाठीले जानकारी दिनुभयो । भारतबाट गत बिहीबार १० लाख डोज नेपालका लागि अनुदान स्वरुप पठाएको हो ।

सम्बन्धित खबरहरु