काठमाडौं । चीनसँग सीमा जोडिएका नाकाहरुमा समस्या देखिएको छ । रसुवागढी नाकाबाट चीनतर्फ हुने निर्यात एक वर्षदेखि ठप्प रहेको खुल्न आएको छ । अर्कोतिर आयात पनि न्यून मात्रामा भइरहेको छ ।

नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको एक वर्ष पूरा भैसकेको छ । अहिले नाकाबाट दैनिक चाइनिज ५ कन्टेनर मात्र सामान आयात भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

गत वर्षको माघ १५ देखि आयात प्रभावित भएको हो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण बन्द भएको आयात कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि प्रायः ठप्प भयो । पटक–पटक आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् ।

केरुङभन्दा माथि खासा, न्यालम धिङग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै सामान थन्किएको व्यापारी धर्म पौडेलले बताए । एक वर्षदेखि करिब २ सयभन्दा बढी नेपालीका खाली कन्टेनर केरुङमा नै रोकिएका छन् ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले व्यापारीका रोकिएका सामान ल्याउन चिनियाँ भन्सार प्रशासनसँग पहल गरिरहेको जनाए । नाका प्रभावित भएपछि सामान आयात पनि घटेको छ ।

सम्बन्धित खबरहरु