काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काममध्ये पूर्वखानेपानी मन्त्री बिना मगरको कार्यकालमा सबैभन्दा बढी प्रगति भएको देखिएको छ । आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुले पूर्वमन्त्री मगरको कार्यकालमा सबैभन्दा बढी काम भएको देखिएको हो ।

 

इटालियन कम्पनी सिएमसीले बिचमा काम छोडेपछि उक्त कम्पनीसँग सम्झौता रद्द गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई टेण्डर मार्फत बाँकी निर्माणको ठेक्का दिईएको थियो । ठेक्का सम्झौतापछि चिनियाँ कम्पनीले बाँध निर्माण (हेड वक्र्स) लगायतका काम सुरु ग-यो । सुरुङ भित्र पानी हालेर परीक्षण गर्ने क्रममा सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण मेलम्ची आयोजना केही ढिला हुन गयो । तरपनि, मन्त्री मगरको कार्यकालमा मेलम्चीमा सबैभन्दा बढी प्रगति भएको प्रगति विवरणले देखाएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले तयार गरेको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रगति प्रतिवेदनमा पूर्वमन्त्री मगरको कार्यकाल मेलम्ची आयोजनाको निर्माण प्रक्रियामा उल्लेखनीय भएको उल्लेख छ । विभिन्न उपशीर्षक समेटेर तयार पारिएको ६० पेज लामो प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ मा सबैभन्दा बढी प्रगति भएको देखिएको छ ।

 

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेकथ्रुदेखि सुरुङको फिनिसिङ कार्य, हेडवक्र्स निर्माण, सेन्सरगेट, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता लिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको उल्लेख छ ।

 

कस्तो रह्यो पूर्व मन्त्री मगरको कार्यकाल ?

चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५ हजार ९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक–थ्रु भएको थियो । हेड वक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो । आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य पूर्णतः सम्पन्न भएको थियो ।

आयोजनाको २५ हजार ५१० मिटरमा फाइनल सर्पोट गर्ने काम सम्पन्न सकिएको थियो । हाइड्रो मेकानिकल उपकरण तथा विभिन्न प्रकारका गेटहरुको आयात तथा सबै गेटहरुको जडान कार्यसमेत सम्पन्न भएको थियो । मन्त्री बिना मगरकै कार्यकालमा हेडवक्र्सको कामसमेत मूलभूत रुपमा सम्पन्न भएको थियो । मन्त्री मगरको कार्यकालमा नै सुरुङको फिनिसिङ लगायतका काम समेत सम्पन्न भए ।

 

मेलम्ची खानेपानी आयोजनामा स्थानीयहरुबाट पटक पटक हुने गरेको विरोध र समस्याहरुलाई समाधान गर्न मन्त्री मगरले धेरै सहजीकरण गर्नुभयो । निर्माणको काममा आउने गरेको अवरोधलाई हटाउन उहाँले धेरै मेहनत गर्नुभयो ।

पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रतिशत प्रगति हासिल गरेको थियो । आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आकस्मिक दुर्घटना भएपछि मेलम्चीको काममा अवरोध पैदा भएको थियो । तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखियो ।

 

कुन मन्त्रीको पालामा काम कति ?

मेलम्ची आयोजनाको परिकल्पना गरेको ४६ वर्ष पुगेको छ । यसको सम्भाव्यता अध्ययन भएको २६ वर्ष पुगेको छ । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष पुगेको छ । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकिरहेको छैन ।

 

मेलम्ची आयोजना सुरु भएपछि डेढ दर्जनभन्दा बढी नेता खानेपानी मन्त्री बने । उनीहरुको मूख्य प्राथमिकता नै मेलम्ची आयोजना थियो । तर, डेढ दर्जन मन्त्रीहरुको कार्यकालमा मेलम्ची आयोजनाको भौतिक प्रगति खासै हुन सकेन । खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बिना मगरको पालामा आयोजनाको कामले गति लियो । हाल मेलम्चीको भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । २६ वर्षको अवधिमा प्रेमबहादुर सिंहदेखि बिना मगरसम्म २२ जना मन्त्री भए । २२ जना मन्त्रीले २६ वर्षमा ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर, बिना मगरले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै आलोचना भईरह्यो । मन्त्री मगरको २१ महिने अवधि सम्म आईपुग्दा मेलम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुग्दा पनि आलोचना हुन छाडेन ।

 

मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति बनाउनुका साथै ठूला आयोजनाहरुको सम्भाव्यता अध्ययनको काम समेत अघि बढाउनुभयो । आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाउनुभयो । तर, राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र फेरबदलले गर्दा मेलम्ची आयोजनाको उद्घाटन गर्ने अवसर पूर्वमन्त्री मगरलाई जुटेन ।

 

के हो मेलम्ची आयोजना ?

मेलम्ची आयोजना विश्व बैंकको सहयोगमा काठमाडौंको खानेपानी व्यवस्थापनका लागि सन् १९७२ मा अध्ययन भएको आयोजना हो । सन् १९९२ मा स्नो माउण्टेन इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको यस आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो । सन् १९९९–२००० मा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भई विद्युत उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रशारण लाइनसहितको प्रस्ताव राखिएको र आयोजनाको तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो ।

 

आयोजनामा दातृ निकायहरु बीचको तालमेल तथा शर्तहरुको कारण विद्युत तथा प्रशारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बरावरको लगानी गर्ने गरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएको र कुल लागत अनुमान तत्कालीन अवस्थामा ४६४ मिलियन अमेरिकी डलर रह्यो । सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिबद्धता फिर्ता लिएको हुँदा लगानीको अभाव हुन गई आयोजना कार्यान्वयनमा समस्या हुन गएको थियो ।

सन् २००८ सम्म आयोजनाका सहायक कार्यहरु जग्गा अधिग्रहण, पहुँच मार्गको निर्माण, क्याम्प साइट निर्माण लगायतका कार्यहरु सम्पन्न भएको र सन् २००८ पछि मात्र आयोजनाको हेडवक्र्स एवं सुरुङ्ग निर्माणको कार्य सुरु भएको हो । मेलम्ची आयोजना सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका शर्तहरु अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी महशुल निर्धारण आयोग तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

 

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त हुन गएको र सोही कारण पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनर्संरचना गरी सन् २००८ मा आयोजनाको दायरामा केही परिवर्तन गरेर आयोजना पुनर्संरचना गरी दुई भागमा बिभाजन गरियो । साथै, लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम हुन गयो । मेलम्ची खानेपानी आयोजना उप–आयोजना–१ को कुल लागत २४९ (संशोधित ३१२ मिलियन अमेरिकन डलर) तथा उप–आयोजना–२ को लागत ६८ मिलियन अमेरिकन डलर रहेको छ ।

 

सन् २००८ बाट सुरुङ्ग निर्माण कार्यको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चाइनिज निर्माण व्यवसायीसँग सम्झौता भई अप्रील २००९ बाट परिचालन गरिएको तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो । निर्माण व्यवसायीबाट ठेक्का सम्झौताको प्रावधानअनुसार (ठेक्का अनुसारको ७८.६५५ समय व्यतित हुँदासम्म जम्मा १५.३५५ मात्र भौतिक प्रगति गर्न सकेको) निर्माण कार्य गर्न सम्पन्न हुनसक्ने अवस्था नरहेकाले २५ सेप्टेम्वर २०१२ मा ठेक्का सम्झौता रद्द गरिएको थियो ।

 

मेलम्चीको तत्काल बाँकी रहेको कार्यका लागि खरिद प्रक्रिया सुरु गरिएको र सन् २०१३ को जुलाई १५ मा निर्माण व्यवसायी सिएमसी डि रेभेनासँग सन् २०१६ को सेप्टेम्बर सम्ममा बाँकी कार्य सम्पन्न गर्ने गरी रु. ७ अर्ब ७२ करोड (भ्याट बाहेक) मा ठेक्का सम्झौता भएका थियो । तर, सिएमसी कम्पनी आर्थिक रुपमा टाट पल्टिएपछि सन् २०१८ डिसेम्बर २१ मा कम्पनीले काम छोडेर भागेको थियो । त्यसपछि सिएमसीसँग मेलम्ची बोर्डले आयोजनाको धरौटी रकम जोगाउन ठेक्का सम्झौता तोड्ने निर्णय ग-यो ।

ठेक्का सम्झौता तोडिएपछि मेलम्ची आयोजना विकास समितिले चीनको सिनो हाइड्रोसँग पुनः ठेक्का सम्झौता गरेर काम अघि बढायो । अहिले मेलम्ची आयोजनाको भौतिक प्रगतिको काम करिब सम्पन्न हुन लागेको छ भने सुरुङको परीक्षण गर्ने चरणमा पुगेको छ ।

 

 

सम्बन्धित खबरहरु