काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताउनुभयो ।

 

मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भ्रन्न्भयो, “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।”

 

पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्ला अस्पतालमार्फत खोप अभियान सञ्चालन गरिएपनि दोस्रो चरणमा देशभरका १६ हजार खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो ।

 

मन्त्री त्रिपाठीले बढीभन्दा बढी सङ्ख्याले सहभागिता जनाउने गरी खोप अभियानलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । खोप अभियानको अनुगमनमा निस्कनुभएका मन्त्री त्रिपाठीले देशभरको अभियान सन्तोषजनकरुपमा अघि बढीरहेको दाबी पनि गर्नुभयो ।

 

सम्बन्धित खबरहरु