काठमाडौं । नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनेका मन्त्रीले माफी मागेका छन् । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी मागेका हुन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएकोले त्यसलाई तत्काल सच्याएको उल्लेख गर्दै माफी मागेका छन् । उनले कार्यक्रममा बोलेको शब्दप्रति नेपाली नागरिक, शूभचिन्तक, र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले दुविधा नराख्न अनुरोध गरेका छन् । उनले लेखेका छन, ‘शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

सम्बन्धित खबरहरु