काठमाडौ । कोरोना महामारीका कारण ९ महिनासम्म बन्द भएको सवारी चालक लाइसेन्स वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको छ । सुरुमा दैनिक रुपमा कार्यालयको क्षमता अनुसार कोटा तोकेर अनलाइन प्रणालीमा फारम भर्ने व्यवस्था गरियो । तर, एकैपटक ठूलो संख्यामा लाइसेन्स लिन चाहनेहरु अनलाइन फारम भर्न बसेपछि प्रणालीले नै थेगेन । गत शुक्रबारबाट दैनिक रुपमा अनलाइन फारम भर्नुपर्ने व्यवस्था हटाएर भरिएका सबै फारम प्रणालीले राख्ने र सेवाग्राहीले छानेको कार्यालयको दैनिक क्षमता अनुसार प्रणालीले नै स्वतः दैनिक कोटा हिसाब गरेर परीक्षार्थी लाइसेन्स कार्यालयमा पुग्नुपर्ने दिन तय गरेर जानकारी व्यवस्था मिलाइएको छ ।

तर, जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन् । अर्थात् एक हप्तामै हजारौं व्यक्तिले परीक्षाको फारम भरेपछि लाइसेन्स कार्यालयहरुले आगामी ४ देखि ५ महिनाका लागि को–को परीक्षार्थी हुनेछन् भन्ने जानकारी पाइसके । अरु लिन अब उसलाई मुस्किल छ ।

अनलाइन प्रणालीले जति पनि फारम स्वीकार्ने र परीक्षार्थी कार्यालयमा प्रक्रिया पूरा गर्न जाने मिति तोक्ने काम प्रणालीबाटै भएपछि हजारौं परीक्षार्थीले फारम भरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनुभयो ।

ततकालै लाइसेन्स लिन फारम भर्नेले करिब ५ महिनापछि मात्रै परीक्षा दिन पाउने उहाँको पनि अनुमान छ । काठमाडौंका कार्यालयहरुको तुलनामा मोफसलका कार्यालयमा कम चाप छ । तर, मोफसलका कार्यालयहरुमा पनि करिब ४ महिनासम्मका लागि परीक्षार्थी तय भइसकेका छन् । परीक्षा लिने क्षमता सीमित हुँदा कार्यालयहरुले दैनिक कोटा तोक्ने गरेको पाइन्छ । विभागका अनुसार हप्तामा ४ दिन मात्रै लाइसेन्सको लिखित परीक्षा हुन्छ । देशभर लाइसेन्स वितरण गर्ने १९ वटा कार्यलय छन् । तिनले दिनमा अधिकतम् ५३ सय जनालाई मात्रै परीक्षामा सहभागी गराउन सक्छन् ।

महामारीका कारण ९ महिना लाइसेन्सको वितरण रोकिँदा ७ देखि ९ लाख व्यक्ति अहिले लाइसेन्स लिने र वर्ग थप गर्ने योजनामा रहेको विभागको अनुमान छ । प्रवक्ता भुसाल अहिलेको अवस्थामा कुनै व्यक्तिले लाइसेन्स प्राप्त गर्ने योजना बनाएमा करिब ५ महिनासम्म परीक्षाकै लागि कुर्नुपर्ने बताउँनुहुन्छ । त्यसपछि लाइसेन्स छापिएर हात पार्न अर्को ३ महिनासम्म समय लाग्नेछ ।

सम्बन्धित खबरहरु