काठमाडौ । सरकार र विप्लव समूहबीच वार्ता हुने पक्का भएको छ । भूमिगत समूहसँग वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्रहरुलाई जिम्मेवारी दिइसक्नुभएको छ । बालुवाटारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतलाई यसमा काम अघि बढाउन सबै अधिकार दिइएको छ ।

ओली पक्षमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै टोली परिचालन गरेर प्रयास अघि बढाउन भनिएको छ । यसमा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई क्रियाशील रहेको बुझिएको छ ।

स्रोतका अनुसार सरकारले विप्लव समूह छाडेका नेताहरुको माध्यमबाट पनि समूहसँग अनौपचारिक सम्वादलाई अघि बढाइरहेको छ । स्रोतका अनुसार विप्लव समूह परित्याग गरेका नेता गुणराज लोहोनी लगायतमार्फत समेत सम्वादको प्रयास भइरहेको हो ।

हिरासतमा रहेका धर्मेन्द्र बाँस्तोलामार्फत पनि समूहका शर्तहरुबारे बुझ्ने काम भइरहेको स्रोत बताउँछ । यसका लागि बादल गोप्य रुपमा हिरासतमा नै पुगेर धर्मेन्द्र बाँस्तोलालाई भेट्न पुग्नुभएको छ । यसमा सुरक्षा निकायले पनि समन्वयकारी भूमिका निभाइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अर्कोतर्फ विप्लव समूहले वैद्य माओवादीसँग कार्यगत एकता गर्न छलफल गरिरहेको छ, ज'नयु'द्ध दिवसको सन्दर्भ पारेर १ फागुनमा त्यससम्बन्धी घोषणा गर्ने वैद्य–विप्लवको तयारी रहेको स्रोत बताउँछ । यही मौकामा वैद्य र विप्लव सहितलाई आफ्नो पक्षमा ल्याएर चुनाव गराउन ओलीले योजना बनाउनुभएको छ ।

वैद्य अध्यक्ष र विप्लव कार्यकारी अधिकारसहित महासचिव हुने भनेर छलफल भइरहेको स्रोत बताउँछ । यो कार्यगत एकता भएकै दिन सरकारसँग वार्ता गर्ने र राजनीतिक प्रतिबन्ध फुकुवा गराउने सरकार र विप्लव समूहको लक्ष्य छ ।

पार्टीमाथि प्रतिबन्ध लागेका कारण दुई पक्षबीच एकतामा अवरोध हुने भएका कारण दुवै पक्ष सरकारसँग वार्ता गर्न तयार रहेको बुझिएको छ । त्यसैले नेता मोहन वैद्य ‘किरण’ लगायतले पनि वार्ताका लागि पहल गरिरहेको सरकारी स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार इश्वर पोखरेल आज नै त्यसको प्रयासका लागि नुवाकोट पुग्नुभएको छ । औपचारिक कार्यक्रम त देखाउने मात्र हो उहाँ वार्ताकै लागि पहिलो प्रयास गर्न नुवाकोट पुग्नुभएको छ उच्च स्रोतको दावी छ ।

सम्बन्धित खबरहरु