काठमाडौ । डा‍ गोविन्द केसीले संसद्‍ पुनर्स्थापना नभए र संवैधानिक निकायमा गरिएका नियुक्ति फिर्ता नभए फेरि अनशनमा बस्ने चेतावनी दिएका छन् । यति मात्र हैन उनले यी माग तीन सातामा पूरा नभए अनशनमा बस्ने घोषणा गरेका हुन् ।

केसीले संसद विघटनविरुद्ध संविधानको रक्षा र संवैधानिक नियुक्ति रद्ध गर्नुपर्ने शर्त अघि सार्दै भने यी माग पूरा नगरे आगामी फागुन १२ गतेदेखि २१औं अनशनमा बस्नेछु। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै डा केसीले यस्तो चेतावनी दिएका हुन् ।

हामी एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर संघर्षरत छौं । हाम्रा कति मागहरु अहिलेसम्म पूरा भएका छैनन् । र हामीसित भएका धेरै सम्झौता कार्यान्वयनमा गएका छैनन् । चिकित्सा शिक्षा ऐन जारी भएर चिकित्सा शिक्षा आयोग बने पनि ऐनमा सुधार गर्नुपर्ने कुरा धेरै छन् ।

चिकित्सा शिक्षा नियमावली बनाउँदा वि.सं. २०८५ देखि मेडिकल शिक्षालाई गैर–नाफामूलक बनाउने भन्ने ऐनका प्रावधानहरु समेटिएका छैनन् । ऐन अनुसार सार्वजनिक संस्थाका रुपमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कुम्स र नेपाली सेनाको मेडिकल कलेजले अझै त्यति छात्रवृत्ति दिएका छैनन् । यी सबै एजेण्डाका लागि हामी निरन्तर लडिरहनेमा कसैले शंका नगरे हुन्छ, डा केसीको विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित खबरहरु