काठमाडौं । आफ्नो समूहले आयोजना गरेको आमहडताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान ललितपुरको पुल्चोक जानु भएको थियो । उक्त कार्यक्रममा पम्फा भुसाल, विष्णु रिजाललगायत नेता–कार्यकर्ता पहिल्यैदेखि खटिनु भएको थियो । विभिन्न नारा लगाउँदै उहाँहरु सडकमा बसिरहनु भएको थियो । दाहाल पनि त्यही हूलमा थपिनुभयो र दायाँ हातलाई तल–माथि उचाल्दै प्रतिनिधिसभा विघटनविरुद्ध नारा लगाउन थाल्नु भएको थियो ।

नेकपाकै एक कार्यकर्ताले नारा लगाइरहनु भएको थियो । दाहाल, भुसाल, रिजालसहितका नेताले कहिले जिन्दावाद र कहिले मुर्दावाद भनिरहनु भएको थियो । उद्घोषण गरिरहेका ती कार्यकर्ताले अर्को नारा लगाए, ‘एमसीसी चाहिँदैन ।’ एमसीसीको विरोधमा नारा लागेपछि दाहाल झस्किनुभयो र भुसाललाई अहिलेको समयमा उक्त नारा लगाउनु ठीक नभएको संकेत गरिहाल्नुभयो ।

उहाँ त्यत्तिमा रोकिनु भएन, आफैंले नयाँ नारा पनि दिनुभयो । अध्यक्ष प्रचण्डले उद्घोषकलाई इंगित गर्दै ‘प्रतिगमनविरुद्ध’ जस्ता नारा लगाउन सल्लाह दिनुभयो । उद्घोषकले तत्काल त्यसलाई मान्नुभयो । तर केही समयपछि नै उद्घोषकले उही नारा दोहोर्‍याइहाल्नुभयो, ‘एमसीसी चाहिँदैन ।’ अन्य नेता–कार्यकर्ताले समर्थन गर्दै भने, ‘चाहिँदैन । चाहिँदैन ।’

दाहाल भने उद्घोषकले उक्त नारा लगाउनेबित्तिकै मुन्टो तल झारेर चुप लाग्नुभयो । त्यसपछि उद्घोषकले फेरि नारा चर्काउनुभयो, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन ।’ दाहाल भने कुनै पनि नारा नलगाईकन आफूलाई ढिलो भएको संकेत गर्दै सुरुआतमा भुसाल र त्यसपछि अन्य नेतासँग बिदा मागेर हिँड्नुभयो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु