काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताउनुभएको छ । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउनुभएको हो ।

“निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।” सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहनुभएका उहाँले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताउनुभयो । मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पार्नुभयो ।

“केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उहाँले भन्नुभयो, “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।”

उहाँले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गर्नुभयो ।

“उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “ निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ । त्यो हामी पूरा गर्न दिँदैनाँै ।”

उहाँले दुईतिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पार्नुभयो ।

“कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो”, उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन गर्न सक्दछन् ।

सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरुले देखाउनुभयो ।” अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताउनुभयो ।

सम्बन्धित खबरहरु