काठमाडौ । नेपालसँग सीमा जोडिएको भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार हिमनदी फुटेसँगै आएको बाँधले ठुलो क्षति पुर्याएको छ । त्यहाँ ठूलो विनाशको रिर्पोट गरिएको छ । त्यहाँ धेरै घरहरू बगेर गएको डर छ । ऋषि गंगा पावर प्रोजेक्ट पनि क्षतिग्रस्त भएको देखिएको छ ।

धेरै मानिसहरु यस बाढीको चपेटमा परेको शंका पनि गरिएको छ । अचानक बढेको पानीले त्यहाँ बाँध पनि फुटेको बताइएको छ । नदी आसपासका क्षेत्रहरूमा थप विनाश नहोस भनेर खाली गर्न भनिएको छ । अचानक आएको बाढीका कारण तल्लो क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । राज्यको प्रकोप नियन्त्रण टीम पनि त्यहाँ पुगेको छ ।

एनडीआरएफको टोली पनि यस अवसरमा पुग्न लागेको खबर भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सरकारी अधिकारीहरुका अनुसार क्षतिको आधिकारिक रूपमा पुष्टि भएको छैन । तर मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले चमोली जिल्लामा एउटा प्रकोप आएको कुरा बताएका छन । सरकारले सबै आवश्यक कदम चालेको छ ।

यो दुर्घटना जोशीमठदेखि मालारी तर्फ २० किलोमिटर टाढा हिमनदीले फुटेको हो । राज्यमा प्रकोपको सामना गर्ने एसडीआरएएफका १० टोली राहत र उद्धार कार्यमा व्यस्त छन् । २०० आईटीबीपी कर्मचारीहरू पनि राहत र उद्धार कार्यमा व्यस्त छन् ।

सेनाका जवानहरू पनि उद्धार कार्यमा संलग्न भएका छन् । सरकारले भनेको छ कि कुनै पनि अफवाहमा ध्यान नदिनुहोस् । वरिष्ठ पत्रकार हृदयेश जोशीले पनि यस घटनाको बारेमा ट्वीट गरेका छन् । सामाजिक सञ्जालमा यस हिमनदी फुटेको भिडियो सार्वजनिक गरिएको छ । चमोलीको ऋषिगंगा नदी वरपर बसेका व्यक्तिहरु बाढीको चपेटमा परेको बताइएको छ ।

https://twitter.com/ANI/status/1358303989381570562

यो नदीबाट भारतले ठूलो क्षमताको विद्युत निकाल्न बाँध बनाएको छ । भारतले उत्तराखण्ड जिल्लाको धौंलिगंगा बाँध खोल्दा नेपालमा जानकारी दिनुपर्ने हुन्छ । सर्तक रहन सूचना गरेर मात्र खोलिन्थ्यो । तर यो फुटेपछि नेपाली बस्तिमापनि यसको जोखिम छ । यो बाढी एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारत हुँदै नेपालमा आउँछ ।

बाँध फुटेर आएपछि महाकाली तटीय क्षेत्रका बासिन्दाहरुलाइ सतर्क रहन आग्रह गरिएको छ । नदीमा पानीको बहाव बढ्ने भएकाले बैतडी, दार्चुला, डडेल्धुरा, कञ्चनपुरका तटीय क्षेत्रका बासिन्दामा जोखिम बढि हुने गर्दछ । यसकारण पनि नदी छेउछाउमा नजान र बिशेष सतर्कता अपनाउन सम्बन्धीत जिल्ला तथा भारतका स्थानीय प्रसासनहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रसासन कार्यालय बैतडीले यसअघि नै सतर्कता अपनाउन आग्रह गरिसकेको छ । यस्तै, दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले यो क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुला प्रशासनले भनेको छ ।

 

सम्बन्धित खबरहरु