नयाँदिल्ली । भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको लाश भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए ।

उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको लाश फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए ।

दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो ।

धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु