काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा पोस्ट (बीओपी) ले सीमा नाकाबाट हुने आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाएको बताउनुभएको छ ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्वयका क्षेत्रहरू’ विषयमा आयोजित दुईदिने गोष्ठीको सोमबार भएको समापनमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा आयोजना गरिएको सो कार्यक्रममा सीमा नाका अझै प्रभावकारी बनाउन नियमन र नियन्त्रण गर्न जरुरी रहेको चर्चा गर्दै उहाँले यसका लागि आवश्यक जनशक्ति, पूर्वाधार निर्माण र सम्बद्ध निकायसँग समन्वय तथा सहकार्य गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।

‘राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयन एकीकृत कार्ययोजना’अनुरूप राष्ट्रिय सुरक्षा परिषद्को संयोजनमा यस किसिमको कार्यक्रम पहिलो पटक आयोजना गरिएको स्पष्ट पार्दै मन्त्री थापाले भन्नुभयो, “सम्बद्ध निकायबीचको छलफल, अन्तरक्रिया र समन्वयले सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउनेछ । ”

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा अवस्था तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई आवश्यक सुझावसहित सिफारिस गर्ने योजनाअनुसार सीमा सुरक्षाजस्तो गम्भीर र संवेदनशील विषयमा गोष्ठी आयोजना गरिएको हो ।

त्यस अवसरमा गृहसचिव महेश्वर न्यौपानेले सीमा सुरक्षाका विषयमा सम्बद्ध निकायबीच व्यावहारिक र सैद्धान्तिक पक्षमा छलफल भएको बताउनुभयो । सीमा व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रचलन, जिम्मेवार निकाय तथा सीमापारिका समकक्षीसँगको समन्वयका विषयमा छलफलभएको छ ।

सम्बन्धित खबरहरु