काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताउनु भएको छ । उहाँले अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै यस्तो बताउनु भएको हो । झाँक्रीले आफु लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे भएको बताउनुभयो ।

उहाँका अनुसार जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा भएको जानकारी दिनुभयो । संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ ।

त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन । राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’ संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित खबरहरु