काठमाडौँ । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्री सहित सार्वजनिक पदाधिकारीहरूको सुरक्षामा खटिएका प्रहरी र सशस्त्रका १३ वटा पछुवा गाडी र करिब २ सय सुरक्षाकर्मी फिर्ता गरेको छ । मन्त्रिपरिषद् बैठकबाट हालै पारित गरिएको अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गरिएको गृह मन्त्रालयले जनाएको छ । फिर्ता भएकामा प्रहरी र सशस्त्रबाट खटिएका अंगरक्षक, पछुवा सुरक्षा, निवास सुरक्षा, चालक र भान्से छन् ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाह तथा राजपरिवारका सदस्यको सुरक्षामा तैनाथ करिब ५० जना सुरक्षाकर्मी र २ वटा पिकअप भ्यान फिर्ता गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यको सुरक्षामा सशस्त्र प्रहरीका डीएसपी शिव राउतको कमान्डमा नागार्जुनमा ‘सशस्त्र प्रहरी नागार्जुन सुरक्षा बेस’ र निर्मल निवासमा राजेन्द्र गुरागाईंको कमान्डमा ‘क्लोज प्रोटेक्सन’ टिम खटिँदै आएको थियो । सशस्त्रले नागार्जुन बेस पूरै फिर्ता गरेको हो । दुईवटा भ्यान फिर्ता गरिएपछि ज्ञानेन्द्रको सुरक्षार्थ अब पछुवामा एउटा मात्रै पिकअप भ्यान रहनेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु