काठमाडौं । आइतबार (आज) संसद विघटनविरुद्धको मुद्धामा रिट निवेदकले जवाफी बहस गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको निवेदनमा आजबाट रिट निवेदकले जवाफी बहस गर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन व्यवसायीले बिहिबार बहस सक्काएका थिए ।

प्रधानमन्त्री ओलीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका प्रश्नको जवाफ दिने गरि रिट निवेदकहरुले आजबाट बहस गर्न लागेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बढीमा ५ जना अधिवक्ताले मात्र रिट निवेदकका तर्फबाट उठेका प्रश्नको जवाफ दिन आग्रह गर्नुभएको छ ।

तर, निवेदकहरूले भने धेरै अधिवक्ताले जवाफ दिन पाउनुपर्ने माग गरिरहेका छन् । रिट निवेदकहरुले संविधान विपरित प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । अर्कोतिर प्रधानमन्त्रीका तर्फबाट बहस गर्न कानुन व्यवसायीले भने संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशिष्ठ अधिकार हुने जिकिर गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा रिट निवेदकको तर्फबाट ७२, सरकारको तर्फबाट ४९ र सभामुखको तर्फबाट ३ जना गरि १ सय २४ जनाले बहस गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरि वैशाख १७ र १७ गते मध्यावधी निर्वाचन गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनलाई लिएर नेकपाभित्र दुई समुह बनेको थियो । प्रचण्ड–नेपाल पक्ष सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । अर्कोतिर ओली समुह बैशाखमा निर्वाचन गराउने तयारीमा लागेको छ । नेकपा आधिकारीक रुपमा कस्को भन्ने विवाद पनि उग्र बन्दै गइरहेको छ । अहिले दुबै पक्षले एक अर्कालाई देखाउनका लागि मात्रै भए पनि विशाल आमसभा गर्दै आएका छन् ।

 

सम्बन्धित खबरहरु