काठमाडौं । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।

बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ ।

दुवै मिलले सिजनमा मुस्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो, “किसानलाई उखुको उत्पादन बढाउनका लागि जग्गा बढाउनुपर्ने हुन्छ । नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नतजात लगाउन उत्प्रेरित गरिए उखुको उत्पादन बढाउन सकिन्छ ।” विश्वका सबैभन्दा उन्नत उखुका जात ल्याएर किसानलाई लगाउन दिइएको उहाँको भनाइ छ ।

छ वटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताउनुभयो ।

कृषि उपकरणसँगै उखु खेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ । “परम्परागतरूपमा हुँदै आएको खेती छाडेर किसानले ट्रेन्च प्रविधिबाट उखु खेती गर्दै आएका छन ।

सम्बन्धित खबरहरु