काठमाडौं । ड्यूक र डचिस अफ ससिक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको उनीहरूका प्रवक्ताले जनाएका छन्। ह्यारी र मेगनले छोरा आर्चीका भाइ वा बहिनीको स्वागत गर्ने तयारी गरिरहेका छन्। गत मे महिनामा आर्ची एक वर्ष पुगेका थिए। ह्यारी र मेगनका प्रवक्ताले उक्त दम्पती "अत्यन्तै खुसी" रहेको बताएका छन्।

बकिङ्घम दरबारका प्रवक्ताले महारानी, ड्यूक अफ एडिन्बरा तथा प्रिन्स अफ वेल्स तथा राजपरिवारका सबै जना "हर्षित भएको र उनीहरूलाई शुभेच्छा व्यक्त गरेको" जनाएका छन्। ह्यारी र मेगनले एउटा श्यामश्वेत तस्बिर सार्वजनिक गरेका छन् जसमा एउटा रूखमुनि ह्यारीले आफ्नो हात मेगनको टाउकोमा राखेको र मेगनले आफ्नो हात पेटमा राखेको देखिन्छ।

उनीहरूका बच्चा राजगद्दीको उत्तराधिकारमा आठौँ स्थानमा रहनेछन्। मेगनले दोस्रो बच्चालाई कहिले जन्म दिनेछिन् भन्ने कुरा खुलाइएको छैन। गत जुलाईमा आफ्नो गर्भ तुहिएको जानकारी मेगनले नोभेम्बरमा प्रकाशित एउटा लेखमार्फत् दिएकी थिइन्। ह्यारी र मेगन पहिलो पटक भेट भएको १६ महिनापछि विवाह बन्धनमा बाँधिएका थिए। सन् २०१८को मे महिनामा विवाह बन्धनमा बाँधिएका उनीहरूले सन् २०१९को मे ६ तारिखमा पहिलो सन्तानलाई जन्म दिएका थिए।

सन् २०२०को मार्च महिनामा ह्यारी र मेगनले आफूले राजपरिवारको 'वरिष्ठ सदस्य' को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए। लगत्तै बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको थियो। हाल उनीहरू क्यालिफोर्नियामा बस्छन्। बीबीसी

सम्बन्धित खबरहरु