काठमाडौ । मेडिकल व्यबसायी दुर्गा प्रसाईको घरमा नेपालका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलको भात खाएको चर्चा एकताका खुबै चर्चित बन्यो ।

राजनीतिक हस्ति प्रचण्ड, ओली र व्यबसायी प्रसाईको नामको पछाडी मार्सी ट्याग नै लाग्यो । कतै रेडियो, टिभिमा भाषण वा बोली सुन्नासाथ धेरैले हेर न मार्सी बोलेको भन्ने गर्दथे । त्यसअघिसम्म मार्सी चामलबारे धरै कमलाई थाहा थियो । राजधानीमा यसको खपत त झन् नगन्य थियो । तर, अहिले मार्सी चामल खोज्दै राजधानीका पसल तथा डिपार्टमेन्टल स्टोर धाउनेहरु ह्वात्तै बढेका छन् ।

सञ्चारमाध्यमममा मार्सीका कार्टुनहरु छापिए, सामाजिक सञ्जालमा शब्द र व्यांग्य ट्रेण्डिङमा परे । नकारात्मक शैलीमा नै भए पनि मार्सी चामलको गज्जब ब्रान्डिङ हुन गयो । अनि धेरैलाई लाग्यो, आखिर कस्तो हुन्छ त यति चर्चित मार्सी चामलको भात ? यही कौतहलताको मेटाउन अहिले बजारमा मार्सी चामल खोज्नेहरु प्रशस्तै भेटिन थालेका छन् ।

यसपछि जुम्लाबाट मार्सी चामल मगाएर नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानले समेत ब्रान्डिङ गरेर मार्सी चामल बेचिरहेको छ । मार्सी चामल खोज्दै ग्राहकको संख्या अत्यधिक डिपार्टमेण्ट स्टोरमा छिरेको देखेपछि खाद्यले जुम्लाबाटै मगाएर बेचिरहेको छ ।

यो चामल खाद्यले २२५ रुपैयाँ प्रतिकेजीमा बेचिरहेको छ । भाटभटेनी, बिग मार्टले यो भन्दा धेरै मुल्यमा बेचिरहेका छन् । ‘मार्सी धानको चामल पहिल्यैदेखि धनाढ्यले खाने भनेर चर्चा हुन्थ्यो । स्वादिलो र सस्तो हुने अरु चामलको प्रयोगमा ब्यापकता आएपछि मार्सी बिक्नै छाड्यो । विकट जुम्लाको धानले बचार पाएको थिएन । तर अब यसले बजार पाएको छ । मार्सी चामल पौष्टिकताले भरिपूर्ण मानिन्छ ।

जुम्ला लगायतको उच्च भूभागमा झण्डै ८ महिना समय लिएर उत्पादन हुने धान हो, मार्सी । यो रातो चामलको विभिन्न प्रजातिमध्ये एक हो । अत्यधिक चिसो हुने क्षेत्रमा फल्ने भएकाले यो प्रांगारिक रुपमै उत्पादन हुन्छ । बीउ राखेको समयदेखि गणना गर्ने हो भने किसानले १० महिना मिहिनेत गरेपछि मार्सी धान भित्र्याउन सक्छन् ।

यो धानको चामलमा फाइबरको मात्र बढी हुने भएकाले सुगर र प्रेसरका बिरामीका लागि यो उपयोगी मानिन्छ । आइरन, स्टार्च लगायतका पौष्टिक तत्व पनि सन्तुलित मात्रामा हुन्छ । स्वादका हिसावले पनि स्वास्थ्यका हिसाबले यो निकै महत्वपूर्ण मानिन्छ ।

यसको भात ढिँडोजस्तै आडिलो खान्कीमा पनि गनिन्छ । तर जुम्ला र काठमाडौंमा यसको मूल्य किलोमै सय रुपैयाँ भन्दा बढी फरक छ । ढुवानी भाडा महंगो हुने भएकाले महंगो भएको विक्रेताहरुको दावी छ ।

बिचौलियाहरुका कारण पनि काठमाडौंमा मार्सी चामलको मूल्यमा एकपरुपता छैन । तर खाद्यले अझै सस्तो मुल्यमा बजारमा ल्याउँने प्रयास गरिरहेको छ । अहिले काठमाडौका विभिन्न ठाउँ र देशका अन्य स्थानबाट समेत खाद्यले यो चामल बेचिरहेको छ ।

खाद्य संस्थानको वेबसाईटबाट अनलाईन अर्डर गरेरपनि यो चामल किन्न पाईन्छ । दुई हजार भन्दा बढी मुल्यको अनलाईन अर्डर गरे खाद्यको गाडीले घरमा नै चामल ल्याईदिन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

सम्बन्धित खबरहरु