काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन आम निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अग्रगमन भएको बताउनुभएको छ ।

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय भेलामा उहाँले चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनःस्थापनको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाउनुभयो ।

“नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो”, मन्त्री ढकालले भन्नुभयो, “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो ।”

विघटन नभएका अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको उहाँले जिकिर गर्नुभयो । सधैँका लागि प्रधानमन्त्रीले संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका अर्का वक्ता तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतले शुरुमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने बताउनुभयो ।

नेकपा स्थायी समितिका सदस्य नेम्वाङले जनतामा जाने प्रधानमन्त्रीको घोषणालाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिह्न पाउने जिकिर गर्नुभयो ।

सम्बन्धित खबरहरु