बैतडी । दोगडाकेदार गाउँपालिका-७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई बलपूर्वक सम्बन्ध राखेपछि ज्यान लिएको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त किशोरलाई सार्वजनिक गरियो ।

गत माघ २१ गते सनातन मावि श्रीकोटमा अध्ययनको लागि गएकी भागरथी स्कुल बिदा भएपछि घर नआएकी र फोन स्वीच अफ भएपछि खोजी गर्ने क्रममा माघ २२ गते दिउँसो सोही ठाउँस्थित लडालेक भन्ने लबलेक जंगल सडक छेउ भन्दा करिब ३० मिटर तल टाउकोमा चोट, घाँटीमा दबाए जस्तो डाम, खुट्टाको औंलामा निल डाम घाउ भएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उक्त घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सोही स्कुलमा अध्ययन गर्ने अभियुक्त अन्तिम कक्षा नपढी साथीहरुसँग खोचलेकतर्फ गएको, साथीहरुलाई खोचलेक बजारमै छोडी आफू एक्लै खोचलेक बजारबाट चडेपानीस्थित आफ्नो घरतर्फ हिँडेको, हिड्नेक्रममा भागरथीलाई मार्ने उद्देश्यले घटनास्थल माथि रहेको सडकमा कुरी बसेको, भागरथी आई पुगेपछि सडक भन्दा तलतर्फ धकेली दिई ज्यान लिएको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत बैतडीबाट ५ दिन म्यद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित खबरहरु