काठमाडौं । भागरथी भट्ट प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेसँगै नयाँ तरङ्ग उत्पन्न भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको घटनामा उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्ट संलग्न भएको प्रहरीको दावी छ । तर भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेपछि नयाँ ट्विस्ट देखिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले अपराध स्विकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेर बुधवार मात्रै सार्वजनिक गरेको हो ।

मृतक भागरथीका काका शिवराज भट्टका अनुसार दिनेश भागरथीको भाइ नाता पर्छन् । शिवराजका अनुसार एक जनाले मात्र यस्तो घटना गराउन सक्दैन भन्ने लागेको छ ।

प्रहरीले एकजना मात्रै अभियुक्त भनेर सार्वजनिक गरेपछि आफुहरुले विश्वास गर्न नसकेको उहाँले जानकारी दिनुभयो । आफुहरुलाई स्पष्ट विश्वास नलागेसम्म भागरथीको लाश नबुझ्ने निर्णय पनि परिवारले गरेको छ ।

प्रहरीले अझै राम्रोसँग अनुसन्धान गरोस् भन्ने परिवारको माग रहेको जनाइएको छ । भागरथीकी आमाले पनि अहिलेसम्मको अनुसन्धानमा आशंका रहेको बताउनु भएको छ । भागरथीको लाश जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार दिनेशले बयानका क्रममा पारिवारिक दुस्मनीसमेत रहेको बताएका छन् । प्रहरीले यसतर्फ पनि अनुसन्धान थालेको जानकारी दिएको छ । भागरथीका बुबाको दुई महिनाअघि मात्रै निधन भएको थियो ।

गाउँलेहरुका अनुसार उनले दिनेशका एक आफन्तलाई धेरै वर्षअघि जबर्जस्ती गरेका थिए, जतिबेला दिनेश जन्मिएका पनि थिएनन् । उक्त घटनामा भागरथीका बुबा केही समय जेल बसेर निस्किएको गाउँका मान्छेहरुले बयान दिएका छन् । उक्त घटनाको बदला लिन दिनेशले अहिले भागरथीलाई सिकार बनाएको धेरैको आंकलन रहेको छ ।

सम्बन्धित खबरहरु