टेस्टट्युब बेबी : निःसन्तानलाई वरदान

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार ६ माघ, २०७१

भनिन्छ– बच्चा भएको घरै उज्यालो हुन्छ। तर, कतिपय घर यस्ता छन्, जो सन्तानहीनताको गहिरो अँध्यारोमा डुबेका हुन्छन्। सन्तान नहुनुको पीडा र रिक्तताले कैयौँ दम्पती निसासिएका छन्। त्यसमाथि समाजको घोचपेचले उनीहरू आहत भइरहेका हुन्छन्। अझ सन्तान नजन्माएको निहुँमा महिलाले हिंसाको शिकारसमेत हुनुपरेको छ। तर, चिकित्साविज्ञान निःसन्तान दम्पतीका सपना साकार पारिदिन सक्षम छ। ‘टेस्टट्युब बेबी’ वरदान सावित भएको छ। प्रवीण ढकाल र अम्मर जिसीले यो वरदानका विभिन्न आयामलाई मिहिन ढंगले केलाएका छन्।
दोष जति महिलालाई
नेपालमा बच्चा जन्माउन नसकेर पीडादायी जीवन व्यतीत गरिरहेका दम्पतीको संख्या ठूलो छ। आँगनमा खेलिरहको सन्तान नहुँदा धेरैको जीवन निरस र श्यामश्वेत हुन पुगेको छ। ग्रामीण भेगमा त कति महिलाले यसैका कारण हिंसा भोगिरहेका छन्। अनि कतिले सौता बेहोरेका छन्। हरेक दम्पतीले विवाहपछि बच्चाको चाहना राख्छ। बच्चाको जन्मपछि मात्र महिलाले आफूलाई पूर्ण भएको महसुस गर्छिन्। तर, यो सुख सबैलाई मिल्दैन। चाहँदा–चाहँदै पनि बाउआमा बन्ने सपना पूरा हुन सकिरहेको हुँदैन। चिकित्सकहरूका अनुसार विवाहपश्चात् बच्चा जन्माउन नसक्नुमा पुरुष र महिला दुवैको कमजोरी बराबर हुन्छ।

ओम अस्पतालकी निःसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठ प्रधानका अनुसार झन्डै १५ प्रतिशत विवाहित दम्पतीले सन्तान सुखबाट वञ्चित हुन परिरहेको छ। ‘आज पनि हाम्रो समाजमा सन्तान नहुनुलाई भगवान्को श्राप वा पूर्वजन्मको पाप भन्दै हेलाँ गर्ने चलन छ,’ प्रधान भन्छिन्, ‘तर, आजको वैज्ञानिक युगमा विभिन्न प्रविधिद्वारा कैयौँ निःसन्तान दम्पतीले सन्तानको सपना साकार पारेका छन्।’
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका अनुसार परिवार नियोजनका साधन नअपनाई नियमित सहवासपश्चात् पनि दुई वर्षभित्र महिलाले गर्भधारण गर्दिनन् भने त्यस्तो अवस्थालाई निःसन्तानको अवस्था मानिन्छ। ‘नेपाली समाजमा अझै पनि सन्तान हुन नसक्नुमा महिलालाई नै दोष दिने चलन बढी छ,’ उनी भन्छन्, ‘तर, सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रूपमा जिम्मेवार हुन्छन्। सन्तान नहुनुमा पुरुषको ३३, महिलाको ३३ र दुवैको साझा ३३ प्रतिशत दोष रहेको हुन्छ। कहिलेकाहीँ दुवैमा खराबी नहुँदानहुँदै पनि गर्भ रहन कैयौँ वर्ष लाग्न सक्छ।’

निराश हुनु पर्दैन
सामान्यतया महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको लिंगबाट निस्किएको वीर्य महिलाको योनीद्वार हुँदै डिम्बवाहिनी नलीमा पुग्दछ। यसरी पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बवाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ। डिम्ब र शुक्रकीटको मिलनबाट भ्रूण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ। महिना दिनपछि यस भ्रूणले शिशुको रूप धारण गर्छ। प्रसूतिगृहको निःसन्तान उपचार केन्द्रकी प्रमुख एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँडका अनुसार कहिलेकाहीँ दम्पतीमा खराबी नहुँदा पनि गर्भ रहन कैयौँ वर्ष लाग्नसक्छ। ‘स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ,’ उनले भनिन्, ‘कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ।’ उनका अनुसार गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो। विवाहित जोडीहरूमा सामान्य समस्याका कारण पनि बच्चा नहुन सक्ने भएकाले पहिला के कारणले बच्चा नहुने समस्या आएको हो त्यो पत्ता लगाउनु आवश्यक हुन्छ।

अहिलेको जमानामा सन्तान नभएको भनेर जीवनभर नै निराश बस्नुपर्ने स्थिति छैन। चिकित्साविज्ञानमा आएको नयाँ प्रविधि र विकासको फड्कोका कारण सन्तान नहुने समस्या भएका धेरैले सन्तान सुख पाउन सकेका छन्। त्यसमध्ये एक हो, टेस्टट्युब बेबी अर्थात् आईभीएफ विधि।  नेपालमा यो विधि सुरु भएको १० वर्ष पुग्यो। र, यो अवधिमा झन्डै साढे पाँच सयभन्दा बढी दम्पतीले सन्तान सुख पाइसके। ओम अस्पतालले मात्र यो अवधिमा पाँच सय टेस्टट्युब बेबीको जन्म गराइसकेको अस्पतालका चिकित्सक डा. रिजाल बताउँछन्। नेपालमा पहिलोपटक २०६१ फागुन २० गते ओमको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो।

के हो टेस्टट्युब बेबी?
पाठेघरको नलीमा समस्या भएका महिलाको शरीरबाट निकालिएको डिम्ब र शुक्रकीट बन्ने समस्या भएका पुरुषबाट निकालिएको शुक्रकीटलाई संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर भ्रूण तयार पार्ने प्रक्रिया थालिन्छ। सामान्य अवस्थामा वा प्राकृतिक रूपमा डिम्ब र शुक्रकीटको मिलन भएर भ्रूण बन्ने प्रक्रिया महिलाको पाठेघरको नलीमा हुने गर्दछ। तर, विभिन्न कारणले महिलाको नलीमा समस्या आएपछि यो प्रक्रियामा जाने गरिन्छ। यो प्रक्रिया ३६ देखि ४८ घण्टामा हुन्छ। तर, नलीमा समस्या हुँदा यस्तो प्रक्रिया नहुने भएका कारण बच्चा बस्न सक्दैन। महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई सिसाको ट्युबमा गर्ने प्रक्रिया नै टेस्टट्यबु बेबी प्रक्रिया हो।
डा. उषाका अनुसार पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भु्रण तयार गरिन्छ। यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रूणलाई सिरिन्ज (सानो पाइप) को सहायताले स्त्रीको पाठेघरको भित्तामा नै लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रूण विकसित भई शिशुको रूप धारण गर्दछ। यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो। ‘तर अझै पनि हाम्रो समाजमा टेस्टट्युब बेबी भनेपछि सिसाभित्र नै बच्चा तयार पारेर निकाल्ने भन्ने भ्रम छ,’ उनले भनिन्।
डा. उषाका अनुसार प्रसूतिगृहमा औषधि उपचारसहित टेस्टट्युब बेबीका लागि झन्डै दुई लाख रुपैयाँ खर्च लाग्छ। ‘तर, यति रकमले सबै प्रक्रिया पूरा गर्न अपुग हुने भएकाले प्रसूतिगृह केही रकम बढाउने तयारीमा छ,’ उनले भनिन्।
प्रसूतिगृहकी चिकित्सक डा. भावा श्रेष्ठ मल्लका अनुसार आईभीएफ गर्नुपूर्व महिलाको सम्पूर्ण जाँच गरिन्छ। महिनावारी नियमित भए/ नभएको, गर्भपतन गरे/नगरेको जस्ता विभिन्न कारणले गर्भ नरहेको हुन सक्छ। महिलाको पाठेघरमा ट्युमर भएमा पनि गर्भ रहदैन। महिलाको अवस्था सम्पूर्ण ठीक भए पनि पुरुषको खराबीले बच्चा नहुन सक्छ। ‘पाठेघरको दुइटै नली बन्द भएमा पनि बच्चा हुँदैन। बच्चा हुनका लागि कम्तीमा पनि एउटा नली खुलेको हुनुपर्छ,’ उनी भन्छिन्, ‘अण्डा निस्कने प्रक्रिया महिनैपिच्छे भइरहेको हुन्छ। यदि अण्डा नै बनेन भने वा सानो (पोलिसिस्टिक ओभरी डिजिज) भए आईभीएफ विधि अपनाउनुपर्ने हुन्छ। सबै ठीक भए पनि ४० वर्षको उमेर हुँदासम्म पनि बच्चा नभए विभिन्न हर्मोनको जाँच गरी आईभीएफ गर्न सकिन्छ।’

कस्तो हुन्छ प्रक्रिया?
महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ। यो विधि भनेको पाठेेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। तर, यो विधिको सफलता दर भने कम छ। यो विधिबाट पनि बच्चा नभएकालाई मात्र आईभीएफ विधिमा लगिने डा. भावा बताउँछिन्। उनका अनुसार आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन। त्यसकारण सुरुमा महिलाको छनोट गर्नुपर्ने हुन्छ। महिलाको छनोट गरेपछि सानो–सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरू दिइन्छ। त्यसपछि हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउन्ड गर्नुपर्छ।
‘महिनावारी भएको दुई दिनमा र छसात दिनमा पुनः जाँच गरिन्छ,’ उनी भन्छिन्,’त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ। अण्डा बनेमा एचसीजी भन्ने इन्जेक्सन दिइन्छ। त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ।’ उनका अनुसार यसरी निकालिएको महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युबेटरमा राखिन्छ, जहाँ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ । यसरी बनेको भ्रूणलाई करिब ३६ देेखी ४८ घण्टाका बीचमा महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ।

दुई वा दुईभन्दा बढी बच्चा
आईभीएफ विधिबाट गर्भधान गरेका महिलामध्ये अधिकांशले दुई वा त्योभन्दा बढी बच्चा जन्माउने गरेको पाइन्छ। चिकित्सकका अनुसार डिम्ब र शुक्रकीटको निषेचन गर्ने क्रममा अधिकांश अवस्थामा चार भ्रूण प्रतिस्थापन गरिन्छ। सबै हुर्कन नसके पनि कम्तीमा एउटा हुर्कन्छ भन्ने सोच राखिएको हुन्छ। तर, कहिलेकाहीँ सबै बच्चा हुर्कने र कहिले एकमात्र हुर्कने हुन्छ। यस्तो हुँदा धेरै बच्चा जन्मने अवस्था आउने डा. रिजाल बताउँछन्।
उनका अनुसार गर्भाशयमा भ्रूण प्रतिस्थापन गरेको दुई हप्तापछि पिसाब र बेटा–एचसीजी परीक्षण गरी गर्भ भए/नभएको जाँच गरिन्छ। त्यसको ४८ घण्टापछि पुनः जाँच गरी निश्चित गरिन्छ। तर, यसरी गर्भ रहे पनि कहिलेकाहीँ खेर जाने सम्भावना भने अत्यधिक हुने डा. रिजालको भनाइ छ। ‘टेस्टट्युब बेबीमा जम्मा सफलताको दर ३० प्रतिशतको हाराहारीमा मात्र छ,’ उनले भने, ‘त्यसकारण सबैमा टेस्टट्युब बेबी सफल हुन्छ भन्ने हुँदैन।’ उनका अनुसार अण्डा राम्रो बन्न नसक्नु, फर्टिलाइजेसन राम्रोसँग हुन नसक्नु र इम्प्लान्टेसन राम्रो हुन नसक्नुजस्ता कारणले आईभीएफ असफल बन्न सक्छ। यस्तै, गर्भ रहेर पनि गर्भपतन हुन सक्ने, एकभन्दा बढी भ्रूण निर्माण हुने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने जस्ता समस्या देखापर्न सक्छन्।

दाताको वीर्य नचाहनेहरू
चितवनकी सरकारी स्टाफ नर्स प्रमिला तामाङको बिहे भएको १२ वर्ष बित्दा पनि बच्चा जन्मेन। उनी श्रीमान्‌लाई लिएर जँचाउन काठमाडौँस्थित प्रसूतिगृह आइन्। अन्य उपचारबाट नभए टेस्टट्युबसम्मकै विकल्प रोज्ने मनस्थिति बनाएर अस्पताल आएका दुवै जनाको चेकअप भयो। श्रीमान् गोकुलको कमजोरी पत्ता लाग्यो। सन्तान उत्पादन गर्न सक्ने क्षमता थिएन उनको वीर्यमा। ‘टेस्टट्युब बेबीका लागि दाताको वीर्य प्रयोग गर्नुपर्ने प्रस्ताव डाक्टरले गर्नुभयो,’ गोकुलले भने, ‘मैले त सन्तान हुन्छ भने पछि नहट्ने विचार गरेको थिँए। तर, बुढीले नमानेपछि कुरै सकियो।’ आफ्नो श्रीमान्‌को वीर्यबाट हुँदैन भने अरू कसैको दानबाट आफ्नो कोख नभर्ने ढिपी गरिन् प्रमिलाले। डा. श्रीवास्तवको अनुभवमा पनि केही यस्ता महिला आउँछन्, जो दाताको वीर्य चाहँदैनन्। ‘अर्काको वीर्य वा डिम्ब नचाहने परिवार पनि धेरै हुन्छन्,’ उनले भनिन्।

असुरक्षित गर्भपतन निःसन्तानको कारण
चिकित्सकका अनुसार पछिल्लो समयमा बढ्दै गएको असुरक्षित गर्भपतनका कारणले पनि महिलालाई निःसन्तान बनाइरहेको छ। विवाहपूर्व नै यौनसम्पर्क राख्ने युवतीहरूले लुकीछिपी असुरक्षित रूपमा गर्भपतन गराउँदा पाठेघरको नली बन्द हुने, पाठेघरमा घाउ भएर असर गर्ने जस्ता समस्याले निःसन्तानको खतरा बढाइरहेको डा. रिजाल बताउँछन्। ‘यो समस्या अहिले झन् विकराल बन्दै गइरहेको छ,’ उनले भने, ‘बजारमा जथाभावी पाइने औषधि सेवनले अहिले युवतीहरूमा बाँझोपनको समस्या निम्त्याइरहेको छ।’

यौनरोग झन् घातक
चिकित्सकका अनुसार युवा उमेरमै रोजगारीका लागि विदेशिएका युवाहरूले विदेशबाट यौनरोग भित्र्याइरहेका छन्। यस्ता युवामा पनि यौनरोगको संक्रमणका कारण सन्तान नहुने समस्या आइरहेको छ। डा. रिजालका अनुसार विदेशमा असुरक्षित यौन सम्पर्क गरेका कारण धेरै युवाले स्वदेशमा आएर विवाह गर्दा सन्तान पाउने अवसर गुमाइरहेका छन्।

सम्बन्धित खबरहरु