काठमाडौं । संसद् विघटनलाई लिएर जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिकृया दिनु भएको छ । उहाँले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताउनुभयो । यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको उहाँको भनाई रहेको छ ।

रूपन्देहीको भैरहवामा आइतबार बिहान लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको जिकिर गर्नुभयो । सरकारी पक्ष र विपक्षी सडकमा भएको भन्दै उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने ? यो आजको प्रश्न हो ।

करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?’ नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उहाँको बुझाई रहेको छ ।

निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्ने धारणा पनि राख्नुभयो ।

अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिनुभयो । पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु