काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको हो । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक तयारी अघि बढाएको छ ।
पछिल्ला दिनमा उद्घाटन र शिलान्यासमा केन्द्रित भएको सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना अनुरुप अध्यादेश नै ल्याउने तयारी गरेको बुझिएको छ ।
धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराईले बतानुभयो । सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन । यही कारण रेल सञ्चालन अल्झिएको बताउँदै आइएको छ ।