काठमाडौं । संसद् पुनःस्थापनको माग गर्दै गर्दा पक्राउ पर्नुभएकी नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनःस्थापनले तानाशाही कदमको अन्त्य भएको बताउनु भएको छ । सर्वोच्व अदालतको फैसलाले समग्र जनताको सम्मान भएको उहाँको बुझाई रहेको छ ।

संसद् पुनःस्थापनका लागि भएको विरोध प्रदर्शनमा राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गर्दा प्रहरीले उहाँलाई गिरफ्तार गरेर केही घण्टामा नै छोडेको थियो । संसद् विघटन गर्ने ओली सरकारको निर्णय सर्वोच्वले बदर गरेपछि नेतृ झाँक्रीले लेख्नु भएको स्टाटस यस्तो रहेको छ:

स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो । यो पुनर्स्थापनाले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ । असंवैधानिक प्रतिगामी कदमविरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय विभिन्न राजनीतिक दल, हाम्रो पार्टी सदस्य समर्थक शुभेच्छुक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।

विधायकी मनसाय, संविधानको अक्षर र भावनको सहि ब्याख्या गर्ने न्यायालय, संवैधानिक ईजलासका सम्मान्ननीय प्रधानन्यायाधीशसहित माननीय न्यायधिशज्यूहरूप्रति हार्दिक धन्यवाद । हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ट कानून व्यवसायी र कानून व्यवसायीक मित्रहरू प्रति हार्दिक आभार प्रकट गर्दछु । समग्रमा यो जनताको जित हो । कानुनी राज्य र लोकतन्त्रको जित हो । सबैमा हार्दिक बधाई ।

सम्बन्धित खबरहरु